दुबईमा नेपाललाई ‘क्लिन स्विप’ हार, लिग–२ शृंखलामा पहिलोपटक अंकविहीन

काठमाडौँ — विश्वकप लिग–२ अन्तर्गतको दुबई त्रिकोणात्मक शृंखलामा नेपालले निराशाजनक प्रदर्शन गर्दै कुनै अंक जोड्न नसकेर नकारात्मक कीर्तिमान बनाएको छ । बुधबार दुबईस्थित आईसीसी एकेडेमीमा सम्पन्न अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएपछि पहिलो पटक लिग–२ को एक शृंखलामा नेपाल अंकविहीन बनेको हो ।

नेपालले यसअघि अमेरिका र यूएईसँग दुई–दुई खेल खेलेको थियो । दुबै टोलीसँग पराजित भएपछि नेपालले सबै खेल गुमायो । यसअघि २०२२ को डिसेम्बरमा नामिबिया र २०२३ को सेप्टेम्बरमा क्यानडा भ्रमणमा नेपालले १–१ अंक मात्र जोड्न सकेको थियो । तर यसपटक प्रशिक्षक स्टुवार्ट लको नेतृत्वमा नेपालले त्योभन्दा पनि कमजोर प्रदर्शन गरेको देखियो ।

नेपालले अमेरिकासँग १ सय ६ रन र ४ विकेटले हार बेहोर्दै शृंखला सुरु गरेको थियो । अन्त्यमा यूएईसँग पनि दुई खेलमा पराजित भएपछि नेपाल अंकविहीन रह्यो । अमेरिकाले शृंखलाका सबै चार खेल जित्दै ‘क्लिन स्विप’ गर्‍यो भने यूएईले ४ मध्ये २ खेल जित्यो ।

बुधबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रनको चुनौतीपूर्ण लक्ष्य तय गरेको थियो । अन्तिम चार ओभरमा ४६ रन थप्दै नेपालले स्कोर सुधार गरेको हो ।

कुशल मल्लले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन बनाए भने सन्दीप लामिछाने १० बलमा २ चौकासहित १५ रनमा अविजित रहे । ललित राजवंशीले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई २३९ रनसम्म पुर्‍याए ।

नेपालको सुरुआत कमजोर रह्यो । कुशल भुर्तेल ९ बलमा २ रनमा आउट भए । ओपनर आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरे । आसिफ ४८ बलमा ३४ रन बनाएर रनआउट भए । भीमले ७ चौका प्रहार गर्दै ४८ रनमा आउट भए ।

कप्तान रोहित पौडेल २ रनमा आउट भए पनि यही क्रममा उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन बनाउने पहिलो नेपाली खेलाडी बने ।

आरिफ शेखले ३० रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए । अन्त्यतिर जुनैद सिद्दिकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले यूएईका लागि २–२ विकेट लिए ।

२ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । ओपनर मोहम्मद शाहदादले ९६ रनको उत्कृष्ट इनिङ खेल्दै प्लेयर अफ द म्याच बने । उनले १ सय २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान मोहम्मद वासिमले ७६ रन बनाए । शाहदाद र वासिमले चौथो विकेटका लागि १ सय ४७ रनको साझेदारी गर्दै यूएईलाई जितको आधार तयार गरे । नेपालबाट करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे ।

यससँगै नेपालले लिग–२ को इतिहासमा पहिलोपटक कुनै अंक जोड्न नसकेको शृंखला समाप्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर