साविक उपविजेता सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार पाँचौं खेल जित्दै प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिमले प्लेअफ टिकट सुनिश्चित गरेको हो।
जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमै ४ विकेट गुमाएर १४८ रन बनाउँदै सहजै पूरा गर्यो।
टिमका लागि इशान पाण्डे चम्किए—३५ बलमा ५ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय पारी खेले। एक रनमै दुई विकेट गुमाएको अवस्थाबाट इशान र विनोद भण्डारीले ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई ठोस आधार दिएका थिए। विनोदले ४९ बलमा ४२ रन जोडे भने हर्मित सिंहले १० बलमा अविजित २५ रनको तेज पारी खेले।
जनकपुरका लागि माज सदाकतले २ विकेट लिन सफल भए।
यस हारसँगै साविक विजेता जनकपुर बोल्ट्सको लगातार हार संख्या चार पुगेको छ। अब जनकपुर लिग चरणमै बाहिरिने जोखिममा छ। अङ्कगणितीय रूपमा झिनो सम्भावना बाँकी रहे पनि प्लेअफ पुग्न जनकपुरले बाँकी तीनै खेल जित्नुका साथै अन्य टिमका नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतकको भरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो। कृष्णमूर्तिले ५० रन जोडे भने जान लफ्टी इटनले ३९ रनको योगदान दिए। प्रारम्भिक ३५–३ को अवस्थाबाट कृष्णमूर्ति र इटनले पारी सम्हालेका थिए।
सुदूरपश्चिमका अविनाश बोहराले ४ विकेट, स्कट कुगेलेइनले ३ विकेट र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।




