जेनजी शहीदको स्मृतिमा संसद् भवन अगाडि दीप प्रज्वलन, गृहमन्त्री अर्यालको सुशासन प्रतिवद्धता

२३ मंसिर, काठमाडौं । जेनजी शहीदहरूको सम्मानमा मंगलबार साँझ संसद् भवन अगाडि दीप प्रज्वलन कार्यक्रम आयोजित गरिएको छ।

शहीद परिवार, घाइते परिवार तथा युवाहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। उनले जेनजी शहीदहरूले देखाएका सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका अधूरा सपनालाई पूरा गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको स्पष्ट पारे।

गृहमन्त्री अर्यालले चुनावपछिको सरकारले लिने प्रमुख कार्यभारमध्ये शहीदका सपना साकार पार्नु नै पहिलो लक्ष्य हुने बताए।

गत २३ र २४ भदौमा जेनजीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अघि बढ्दा प्रहरीले चलाएको गोली लागेर केही प्रदर्शनकारीले ज्यान गुमाएका थिए।

सरकारले जेनजी आन्दोलनका ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ का रूपमा सरकारी सम्मान प्रदान गर्ने निर्णय पहिले नै गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर