देशभर बाढी–पहिरोको उच्च जोखिम : प्रधानमन्त्री कार्यालयको सतर्कता अपील

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। असोज १७ देखि २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भई कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने भएकाले बाढी–पहिरोको जोखिम बढ्ने चेतावनी दिइएको छ।

शुक्रबार जारी विज्ञप्तिमा वर्षाका कारण नदी–नाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने, डुबान, कटान, भूक्षय तथा बाढी–पहिरोको सम्भावना रहेको उल्लेख छ। विशेष गरी मधेस प्रदेशको तराई, नारायणी, बागमती, कोसी र कर्णाली नदी क्षेत्र, काठमाडौं उपत्यका, पूर्वी तराई तथा विभिन्न पहाडी जिल्लामा उच्च जोखिम रहेको प्रस्ट पारिएको छ।

कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र गम्भीर बिरामीलाई सुरक्षित स्थानमा सार्न अनुरोध गरेको छ। साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायलाई राहत–उद्धारका लागि पूर्वतयारीसहित सक्रिय रहन निर्देशन दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “वर्षा र बाढी–पहिरोबाट जनधनको क्षति न्यूनीकरण गर्न सबैले सचेतना र तयारीलाई उच्चतम तहमा पुर्‍याउन आवश्यक छ।”

प्रतिक्रिया
सम्बन्धित खबर