१७ फागुन, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा विकसित भइरहेको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले यूएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ।
नेपाली दूतावास, अबुधाबीले ‘एड्भाइजरी–२’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको हो। दूतावासका अनुसार सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य प्रविधिमार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अनावश्यक अन्योल र भ्रम सिर्जना हुन सक्छ।
दूतावासले परिस्थितिसम्बन्धी फोटो तथा भिडियो खिचेर पोस्ट गर्दा पनि जिम्मेवार बन्न आग्रह गरेको छ। सूचनामा यूएईका सम्बन्धित निकायहरूले यस्ता गतिविधि स्थानीय कानुनअनुसार दण्डनीय हुन सक्ने चेतावनी जारी गरिसकेको उल्लेख गरिएको छ।
त्यसैले यूएईमा रहेका नेपाली नागरिकलाई स्थानीय कानुनको पूर्ण पालना गर्न, अफवाह फैलाउने गतिविधिबाट टाढा रहन तथा विकसित परिस्थितिबारे सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक निकायका वेबसाइट र सूचनामार्फत मात्र अपडेट लिन अनुरोध गरिएको छ।
यसअघि दूतावासले पहिलो एड्भाइजरी जारी गर्दै अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेको थियो।




