फेटा घटना : कमान्ड सम्हालेका इन्स्पेक्टर हटाइए, छानबिन एसएसपीको हातमा

१५ शय्याको अस्पताल उद्घाटनमा भएको झडपबारे प्रदेश प्रहरीद्वारा तीन सदस्यीय टोली गठन

जनकपुरधाम, कात्तिक १५ । अस्पताल उद्घाटनको तयारी गोलीसम्म पुगेको घटनामा मधेश प्रदेश प्रहरीले छानबिन आफ्नै हातमा लिएको छ । शनिबार बाराको फेटा गाउँपालिका–३ मा भएको झडपबारे प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय टोली बनाएको हो ।

टोलीको नेतृत्व प्रदेश प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकाललाई दिइएको छ । ढल्केवरस्थित विशेष सुरक्षागणका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र वीरगञ्ज प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन् । सकेसम्म चाँडो प्रतिवेदन बुझाउन टोलीलाई भनिएको छ ।

छानबिन सुरु हुँदासँगै घटनास्थलको सुरक्षा नेतृत्व गरेका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामा जिम्मेवारीविहीन बनेका छन् । उनलाई प्रदेश कार्यालय तानिएको प्रदेश प्रहरी स्रोतको भनाइ छ ।

संघीय अनुदानमा बनेको अस्पताल काम नसकिँदै उद्घाटन गर्न खोजिएको भन्दै एकथरी स्थानीय विरोधमा थिए । विरोध चर्किँदै झडपमा पुग्दा प्रहरीको गोली लागेर आदित्य पासवान गम्भीर घाइते भए, उनको वीरगञ्जमा शल्यक्रिया गरी गोली निकालिएको छ । ढुंगामुढामा पाँच प्रहरी घाइते भए भने १० मोटरसाइकल जलाइयो र अस्पतालको शिलालेख तोडफोड भयो ।

आक्रोशित भीडले भवन घेर्दा इन्स्पेक्टरसहित ३८ सरकारी कर्मचारी करिब दुई घण्टा थुनिएका थिए, उनीहरूलाई प्रशासनले सकुशल निकाल्यो । त्यसपछि फेटामा सुरक्षा बाक्लो पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर