निरन्तर वर्षाले एनपीएलको पहिलो खेल प्रभावित हुने सम्भावना, दोस्रो खेल पनि अन्योलमा

१४ कात्तिक, काठमाडौं । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि लगातार वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका खेल प्रभावित हुने सम्भावना बढेको छ। विशेषगरी दिउँसो १२:३० बजेका लागि निर्धारित पहिलो खेल रद्द हुन सक्ने देखिएको छ भने साँझको दोस्रो खेल हुने–नहुनेमा समेत अन्योल छ।

शनिबार पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। तर, मौसम पूर्वानुमानअनुसार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म धेरै स्थानमा वर्षा हुने देखिएको छ। त्यसपछि भने वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। उनले काठमाडौंमा पनि करिब २ बजेसम्म पानी पर्ने सम्भावना रहेको उल्लेख गरेका छन्।

वर्षा रोकिए पनि खेल सञ्चालन गर्न मैदान तयार पार्नु अर्को चुनौती हुनेछ। लामो समयसम्म पानी परेका कारण मैदानको आउटफिल्डमा पानी जमेको हुन सक्ने र जमिन हिलाम्मे हुने सम्भावना छ। पिचलाई कभरले सुरक्षित राखिएको भए पनि मैदान पूर्ण रूपमा खेल्नयोग्य बनाउन थप समय लाग्न सक्छ।

मैदान भिजेको अवस्थामा बलरलाई दौडिएर बलिङ गर्न तथा फिल्डरलाई दौडिन र दिशा परिवर्तन गर्न कठिन हुन्छ। यसले खेलको गुणस्तरमा असर पार्नुका साथै खेलाडीको सुरक्षामा समेत जोखिम निम्त्याउन सक्छ। त्यसैले वर्षा रोकिनासाथ खेल सुरु गर्न सहज हुने देखिँदैन।

पहिलो खेलका लागि समय पनि निकै सीमित छ। एनपीएलको तालिकाअनुसार दोस्रो खेल साँझ ५ बजे सुरु हुने तय छ। पहिलो खेलमा कम्तीमा पाँच ओभरको खेल गराउन दिउँसो करिब ३:४० देखि ३:५५ बजेसम्म खेल सुरु गरिसक्नुपर्ने देखिन्छ।

मैदानलाई खेल्नयोग्य बनाउन दुईदेखि तीन घण्टासम्म लाग्न सक्ने भएकाले दिउँसो १ बजेसम्म पनि वर्षा नरोकिए पहिलो खेल सञ्चालन हुने सम्भावना निकै न्यून हुनेछ।

शनिबारको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। पहिलो खेलको अवस्थासँगै वर्षा रोकिने समय र मैदानको अवस्थाले दोस्रो खेलको भविष्य निर्धारण गर्नेछ।

यसपटकको एनपीएलमा कुनै पनि खेलका लागि वैकल्पिक दिन (रिजर्भ डे) को व्यवस्था गरिएको छैन। त्यसैले वर्षाका कारण खेल सञ्चालन हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ। लगातारको वर्षाले शनिबारका दुवै खेल प्रभावित हुने सम्भावना बढेसँगै क्रिकेटप्रेमीहरू मौसममा सुधार आउने प्रतीक्षामा छन्।

प्रतिक्रिया
सम्बन्धित खबर