समाचार संस्था रोयटर्सका अनुसार जर्मनीका ३४ सहरमा शनिबार प्रदर्शन भएको थियो। ‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजीले जिम्मेवारी लिन्छ’ नामक अभियानको आह्वानमा बर्लिन, फ्र्यांकफर्ट र म्युनिकलगायत सहरमा युवाहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले अनिवार्य सैनिक सेवाको विरोध गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न, युवाको जीवनयापन सहज बनाउन तथा सामाजिक असमानता अन्त्य गर्न माग गरेका छन्।
जर्मनीको आर्थिक केन्द्र फ्र्यांकफर्टमा प्रदर्शनका क्रममा कम्तीमा दुईवटा पसलमा लुटपाट भएको थियो भने अन्य पसलमा तोडफोड गरिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रहरीका अनुसार प्रदर्शनकारीले आपत्कालीन सेवामा खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बमसमेत प्रहार गरेका थिए। प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत सहरको केन्द्रमा नजान र त्यहाँ रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
त्यस्तै, ह्याम्बर्गमा प्रदर्शनकारीले सडक अवरुद्ध गरी आगजनी गरेका थिए। कोलोनमा प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भीड तितरबितर पारेको थियो भने बर्लिनमा प्रदर्शनकारीले प्रहरीमाथि बोतल र अण्डा प्रहार गरेका थिए।
आयोजकले प्रदर्शनमा एक लाख ८२ हजार मानिस सहभागी हुने अपेक्षा गरेका थिए। तर प्रहरीका अनुसार फ्र्यांकफर्ट, म्युनिक र बर्लिनमा मात्रै करिब १८ हजार मानिस सडकमा उत्रिएका थिए।
‘हामी युद्ध र जबर्जस्तीको पक्षमा होइनौँ, शान्ति र स्वतन्त्रताको पक्षमा आवाज उठाउन आएका हौँ,’ अभियानकी प्रवक्ता लिना फ्रेडरिकले बर्लिनमा भनिन्।
उनका अनुसार शिक्षा र स्वास्थ्य प्रणालीमा सुधार, अनिवार्य सैनिक सेवाको अन्त्य तथा सामाजिक दायित्वको न्यायपूर्ण वितरण आन्दोलनका प्रमुख माग हुन्।
फ्रान्समा तीन लाख २० हजार प्रदर्शनकारी, ५११ जना पक्राउ
जर्मनीसँगै फ्रान्समा पनि महँगी, आर्थिक असमानता र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध व्यापक प्रदर्शन भएको छ। शनिबार फ्रान्समा भएको तेस्रो चरणको प्रदर्शनमा राजधानी पेरिससहित मार्सेई, लियोँ, तुलुजलगायत सहरमा करिब तीन लाख २० हजार मानिस सहभागी भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
यसअघि गत सप्ताहान्त भएको प्रदर्शनमा करिब चार लाख १० हजार मानिस सहभागी भएका थिए। यसपटक पेरिसमा मात्रै ७० हजार मानिस सडकमा उत्रिएका थिए।
दिनभर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझ केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र स्टन ग्रिनेड प्रयोग गरेको थियो। प्रदर्शनका क्रममा देशभरबाट ५११ जना पक्राउ परेका छन्।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले केही समूहले असाधारण स्तरको हिंसा प्रदर्शन गरेको बताएका छन्। पेरिसमा एक प्रहरी अधिकारीमाथि पेट्रोल बम प्रहार भएको घटनालाई उनले हत्या प्रयासको संज्ञा दिएका छन्।
प्रदर्शन नियन्त्रणका लागि सरकारले ७० हजार प्रहरी तथा सुरक्षा अधिकारी परिचालन गरेको थियो। लियोँमा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि अश्रुग्यास प्रयोग गरिएको थियो भने तुलुजमा अनुमति नलिई गरिएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा चलाएको थियो।
प्रदर्शनमा विद्यार्थी, मजदुर संगठन तथा ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थक सहभागी थिए। उनीहरूले महँगी नियन्त्रण, आर्थिक असमानताको अन्त्य र शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवामा सुधारको माग गरेका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारप्रतिको असन्तुष्टिले पनि आन्दोलनलाई थप बल दिएको छ। प्रदर्शनकारी जेरोम रोड्रिगेजले सामान्य परिवार दैनिक खर्च धान्न संघर्ष गरिरहेका बेला सरकारले अर्बौंको आर्थिक कारोबार गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
युवा विद्यार्थीहरूले आगामी मंगलबार र बिहीबार विद्यालय तथा विश्वविद्यालयमा अवरोध गर्ने कार्यक्रमसमेत घोषणा गरेका छन्। त्यसपछि नोभेम्बर ५ मा मजदुर तथा ट्रेड युनियनले आह्वान गरेको प्रदर्शनमा सहभागी हुने उनीहरूको तयारी छ।
अन्य युरोपेली देशमा पनि सुरक्षा सतर्कता
युरोपका अन्य देशमा पनि प्रदर्शन र झडपका घटनाले सुरक्षा चुनौती थपेको छ। इटालीका मिलान, टुरिन र बोलोन्यामा यसअघि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्पेनको बार्सिलोनामा टिकटकमार्फत नयाँ प्रदर्शनको आह्वान भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
यस वर्ष युरोपका विभिन्न देशमा देखिएको युवा नेतृत्वको आन्दोलनले सरकारहरूमाथि दबाब बढाउँदै लगेको छ। सर्बियामा विद्यार्थी आन्दोलनले लामो समयदेखि सत्तामा रहेका नेताको राजनीतिक भविष्यमा समेत प्रभाव पारेको थियो।
जर्मनीमा भने दक्षिणपन्थी र वामपन्थी अतिवादी समूहले युवा आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थमा प्रयोग गर्न सक्ने भन्दै सरकारले चिन्ता व्यक्त गरेको छ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी पछिल्लो समय आर्थिक वृद्धि पुनर्जीवित गर्न संघर्षरत छ। बढ्दो जीवनयापन खर्च, पेन्सन प्रणालीमाथिको दबाब र सार्वजनिक सेवाको कमजोर अवस्थाले युवामा निराशा र असन्तुष्टि बढाएको छ।
युरोपका विभिन्न देशमा चर्किएको पछिल्लो आन्दोलनले युवाहरूको असन्तुष्टि केवल राजनीतिक नेतृत्वमा सीमित नरहेको देखाएको छ। रोजगारी, शिक्षा, स्वास्थ्य, आर्थिक अवसर र सामाजिक सुरक्षाजस्ता आधारभूत विषयमा राज्यको जिम्मेवारीप्रति युवाहरूले गम्भीर प्रश्न उठाउन थालेका छन्।




