एनपीएलमा आज दुई खेल : काठमाडौंले जनकपुरसँग खेल्दा कर्णाली र विराटनगर आमनेसामने

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर र काठमाडौं आमनेसामने हुनेछन्। उक्त खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा काठमाडौं गोर्खाजले आज पहिलो खेल खेल्न लागेको हो। जनकपुर बोल्ट्स भने यसअघि भएको खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो। त्यसैले आजको खेलमा जनकपुर जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।

आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ। कर्णालीले यसअघि जनकपुरलाई पराजित गर्दै जित निकालेको थियो। विराटनगर किंग्स भने आफ्नो अघिल्लो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

आजका दुवै खेलले टोलीहरूको आगामी यात्रा थप रोचक बनाउने अपेक्षा गरिएको छ। जितको खोजीमा रहेका टोलीहरूबीचको प्रतिस्पर्धाले एनपीएलप्रति समर्थकको चासो थप बढाउनेछ।

 

 

प्रतिक्रिया
सम्बन्धित खबर