१८ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा तीव्र बन्दै गएपछि २० जिल्लालाई बाढीको अति उच्च जोखिममा रहेको जनाएको छ।
हाल काठमाडौं उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको विभागले जानकारी दिएको छ। विशेषगरी मधेस प्रदेशमा भारी वर्षा जारी छ भने उपत्यकामा समेत वर्षा क्रमशः बाक्लिँदै गएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन गरी २० जिल्लामा बाढीको अति उच्च जोखिम रहेको छ।
त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लामा उच्च जोखिमको सम्भावना रहेको छ।
यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया र आसपासका क्षेत्रमा स–साना नदीको बहाव उल्लेख्य रूपमा बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, नदी तटीय क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय निकायको सूचना तथा निर्देशनको पालना गर्न आग्रह गरेको छ।




