राष्ट्रपति रामचन्द्र पौडेलको कामना: प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य हासिल होस्

काठमाडौं, ७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा र ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान तथा लोकतन्त्रको स्थापनाका लागि विभिन्न आन्दोलनहरूमा योगदान पुर्‍याउने सबै ज्ञात–अज्ञात वीर शहीद तथा आन्दोलनका सहभागीप्रति उच्च सम्मान प्रकट गरेका छन्। प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा जनताले अपेक्षा गरेको सुशासन र तीव्र विकासको मार्ग सुनिश्चित गर्न यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। उनले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान पनि गरेका छन्।

विसं २००७ सालको ऐतिहासिक क्रान्तिले निरङ्कुश शासनको अन्त्य गर्दै मानवअधिकार र नागरिक स्वतन्त्रताको स्थापना गरेको स्मरण गर्दै उनले फागुन ७ लाई त्यस ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाइने गरिएको बताएका छन्। लामो सङ्घर्ष र बलिदानको परिणामस्वरूप प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान संविधान निर्माणको महत्वपूर्ण आधार २००७ सालको क्रान्ति नै रहेको उनले उल्लेख गरेका छन्।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो। लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनेछ,’ सन्देशमा उल्लेख छ। साथै, जनता नै राज्य शक्तिको स्रोत हुन् भन्ने मान्यतालाई लोकतन्त्रले स्थापित गरेको र संविधानले न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको पनि उनले स्पष्ट पारेका छन्।

राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि हासिल गर्नु नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य भएकाले यस दिशामा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर