निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छिन्। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताइन्।

प्रधानमन्त्री कार्कीले एक साताभित्र फागु पूर्णिमा (होली) पर्व आउन लागेको तथा हिमाली क्षेत्रमा, विशेषगरी रुकुम पूर्वतर्फ सम्भावित हिमपातजस्ता प्राकृतिक चुनौती देखा पर्न सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराइन्। यस्ता अवस्थाले निर्वाचन तयारी र व्यवस्थापनमा प्रभाव पार्न सक्ने भएकाले पूर्वतयारी सुदृढ बनाउन उनले आग्रह गरिन्।

उनले विभिन्न जिल्लामा स्थानीयस्तरका समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बनेको बताइन्। प्रतिस्पर्धा झडपमा रूपान्तरण हुन सक्ने आशंकालाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रलाई संवेदनशील बन्न उनले निर्देशन दिइन्। पार्टीका झण्डा जलाउनेजस्ता घटनाले निर्वाचनको वातावरणमा तनाव सिर्जना गर्न सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि समयमै कदम चाल्नुपर्ने उनको भनाइ थियो।

निर्वाचन बहिष्कार गर्ने समूहहरूको सन्दर्भमा बोल्दै प्रधानमन्त्री कार्कीले त्यस्ता समूहहरूको प्रभाव सीमित रहेको उल्लेख गरिन्। कतिपयले बहिष्कारको नाममा आफ्नो अस्तित्व देखाउने वा चन्दा–असुली गर्ने प्रवृत्ति अपनाउने गरेको गुनासोसमेत आएको उनले बताइन्। यस्ता गतिविधिप्रति कानुनी र तथ्यगत आधारमा निगरानी राख्नुपर्नेमा उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले समग्रमा निर्वाचनलाई स्वच्छ, शान्त र विश्वसनीय बनाउन सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै सुरक्षा निकायलाई उच्च जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिइन्।

(तस्बिर स्रोत: नेपाल टेलिभिजन फेसबुक पेज)

प्रतिक्रिया
सम्बन्धित खबर