निर्वाचनमा खटिने कर्मचारीका लागि कडा आचरण निर्देशिका, निष्पक्षता र तटस्थता अनिवार्य

निर्वाचनमा खटिने कर्मचारीहरूले आफ्नो सेवा समूहसम्बन्धी कानुनमा उल्लेखित आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था गरिएका सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ। निर्वाचन आयोगले जारी गरेको उक्त आचारसंहितामा कर्मचारीहरूको भूमिका निष्पक्ष, तटस्थ र जिम्मेवार हुनुपर्नेमा विशेष जोड दिइएको छ।

आयोगका अनुसार कुनै पनि कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्। निर्वाचन प्रक्रियामा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तथ्यमा आधारित र पूर्ण निष्पक्षताका साथ निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।

आचारसंहितामा निर्वाचन अवधिभर विदेश भ्रमणसम्बन्धी पनि स्पष्ट व्यवस्था गरिएको छ। मुलुकको प्रतिनिधित्व गर्ने औपचारिक भ्रमणबाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्तिले आयोगको पूर्वस्वीकृतिबिना विदेश जान वा पठाउन नपाइने व्यवस्था गरिएको छ।

यसैगरी, उम्मेदवार, राजनीतिक दल, तिनका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थानका भवन, अतिथि गृह, सभागृह, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने प्रावधान पनि आचारसंहितामा समेटिएको छ।

आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन यी प्रावधान कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर