आज तमु ल्होसार पर्व: गुरुङ समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ स्वागत, सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले आज पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागतस्वरूप तमु ल्होसार पर्व श्रद्धा, संस्कृति र उत्साहका साथ मनाइरहेका छन्। तमु भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ।

तमु ल्होसार गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो, जसलाई नयाँ वर्षका रूपमा भव्यरूपमा मनाइन्छ। यो पर्व सूर्यको गतिसँग पनि जोडिएको छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप छिटो पर्ने भएकाले पुस महिनामा तमु ल्होसार मनाउने परम्परा रहेको विश्वास छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायले सूर्यको ताप आउने समयअनुसार माघ र फागुनमा ल्होसार मनाउने गर्छन्।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारलाई विशेष महत्वका साथ हेरिन्छ। यही सांस्कृतिक र ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ।

तमु ल्होसारको अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा सहभागीहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर नाचगान, सांस्कृतिक प्रस्तुति र जातीय पहिचान झल्कने गतिविधिमा सहभागी हुँदैछन्। साथै, गुरुङ समुदायका परिकारहरूको विशेष प्रदर्शनी पनि गरिएको छ।

यस अवसरमा आइतबारदेखि सुरु भएको ल्होसार महोत्सव टुँडिखेलमा जारी छ, जहाँ हजारौँ सर्वसाधारणको उत्साहपूर्ण सहभागिता देखिएको छ। तमु ल्होसारले आपसी सद्भाव, सांस्कृतिक पहिचान र नयाँ आशाको सन्देश बोकेको जानकारहरू बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित खबर