नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको छ। यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने अहिलेसम्म विशेष महाधिवेशनको पक्षमा देखिएका छैनन्। पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा वैशाख मसान्तभित्र १५औँ नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच सदस्यले फरक मत राखेका थिए।
यसअघि असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए। तर त्यसअनुसार प्रक्रिया अघि नबढेपछि विधानको धारा १७(२) अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको भन्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन हुने दाबी गर्दै आएका छन्। यही प्रावधानका आधारमा आज विशेष महाधिवेशन आह्वान हुने सम्भावना रहेको बताइएको छ।
विशेष महाधिवेशन पक्षधर नेता बलदेव तिमिल्सिनाका अनुसार भृकुटीमण्डपस्थित सभाहल, बगैंचा र पार्किङ क्षेत्र बुक गरिसकिएको छ। महाधिवेशनको शान्ति सुरक्षा सुनिश्चित गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई औपचारिक पत्रसमेत बुझाइएको छ। विशेष महाधिवेशन सचिवालयका तर्फबाट मनोजमणि आचार्यले सुरक्षा व्यवस्थापनका लागि पत्राचार गरेका हुन्।
महाधिवेशन व्यवस्थापनका लागि हालसम्म १८ वटा समिति गठन गरिएका छन्। ती समितिहरूमा पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रीय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, प्रदेश सांसद र पूर्वसांसद समन्वय, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन तथा जिल्ला–क्षेत्र फोकल पर्सन समन्वय समिति रहेका छन्।
साथै महाधिवेशनका लागि आवश्यक दस्तावेज लेखन कार्यसमेत जारी रहेको छ। देशभरका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुग्ने क्रम बढेको छ भने विदेशस्थित जनसम्पर्क समितिहरूबाट पनि प्रतिनिधिहरू आउने तयारी भइरहेको नेताहरूको भनाइ छ।
विशेष महाधिवेशन पक्षधरहरूले हिजो पार्टी कार्यालय अगाडि भएको प्रदर्शनमा आफ्नो संलग्नता नरहेको स्पष्टिकरण दिएका छन्। पुस १८ को कार्यसम्पादन समितिको बैठकबाट गरिएको महाधिवेशन सार्ने निर्णय आफूहरूलाई स्वीकार्य नभएको उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार हस्ताक्षर फिर्ता लिन केही नेताहरूले दबाब दिए पनि त्यसको प्रतिवादस्वरूप झन् धेरै जिल्लाबाट नयाँ हस्ताक्षर संकलन भइरहेको छ।
यता सभापति देउवा पक्षले भने नियमित महाधिवेशनको कार्यतालिका आइसकेकाले विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएको छ।




