आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस: बिपी कोइरालाको ऐतिहासिक स्वदेश फिर्तीको स्मरण

१६ पुस, काठमाडौं — प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रियता, एकता र मेलमिलापको नीति अंगीकार गर्दै स्वदेश फर्किएको ऐतिहासिक दिनको सम्झनामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदैछ।

विसं २०३३ पुस १६ गते, आफूविरुद्ध आठवटा मृत्युदण्डसम्मका मुद्दा अदालतमा विचाराधीन रहँदा पनि राष्ट्रिय हितलाई सर्वोपरि ठान्दै बिपी कोइराला निर्वासन त्यागेर नेपाल फर्किएका थिए। उनको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत थुप्रै नेता तथा कार्यकर्ता करिब आठ वर्षको निर्वासित जीवन अन्त्य गरी स्वदेश फर्किएका थिए।

भारतमा निर्वासनका क्रममा सिक्किम भारतमा विलय भएको घटनालाई नजिकबाट अनुभव गरेका कोइरालालगायत नेताहरूले क्षेत्रीय विखण्डन र राष्ट्रियता कमजोर हुने खतरा महसुस गरेका थिए। यही पृष्ठभूमिमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिँदै उनीहरू ४९ वर्षअघि आजकै दिन नेपाल फर्किएका हुन्।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि बिपी कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसपछि फागुन २६ गते उनलाई सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनल प्रमुखको निवास क्षेत्रलाई घेराबार गरी बनाइएको सुन्दरीजल बन्दीगृहमा सारिएको थियो।

आठ वर्षपछि, विसं २०२५ सालमा उपचारका लागि रिहा गरिएका कोइराला भारत गएका थिए। त्यहाँ उपचारसँगै निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधिमा सक्रिय रहे। भारतद्वारा सिक्किम गाभिएको, पाकिस्तान अलग्गिएको र एसियाका विभिन्न मुलुकमा विखण्डनका घटना बढ्दै गएको सन्दर्भमा उनले राष्ट्रिय एकता कमजोर हुन नदिन मेलमिलापको नीति अपनाउने निर्णय गरेका थिए।

विसं २०३३ पुस १६ गते त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, गणेशमान सिंहलगायत नेताहरूलाई पुनः नियन्त्रणमा लिई सुन्दरीजल बन्दीगृह लगिएको थियो। पछि विसं २०३४ जेठ २७ गते उपचारपछि फर्कने सर्तमा मिति खाली राखी उनलाई रिहा गरिएको थियो। त्यसपछि पुनः सुन्दरीजल हुँदै प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बन्दी बनाइएको थियो। २४ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा परिणत गरिएको छ।

सुन्दरीजल बन्दीगृहमा रहँदा बिपी कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘बाबुआमा र छोरा’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, आत्मजीवनी ‘आफ्नो कथा’ तथा जेल जीवनको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) जस्ता महत्वपूर्ण कृतिहरू लेखेका थिए। यसअघि विसं २००८ मा प्रकाशित ‘दोषी चश्मा’ कथासङ्ग्रहसँगै उनी नेपाली साहित्यमा यौन मनोवैज्ञानिक धाराका प्रवर्तकका रूपमा समेत स्थापित छन्।

मेलमिलाप नीति लिएर फर्किएपछि पुनः सुन्दरीजलमा बन्दी बनेर लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ शीर्षकमा प्रकाशित भएको छ।

दिवसको अवसरमा आज नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहेका छन्। यसै अवसरमा बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम गर्ने जनाएको छ। यद्यपि प्रत्येक वर्ष पुस १६ गते मनाइने यो दिवस औपचारिकतामा मात्र सीमित हुँदै गएको भन्ने टिप्पणी पनि हुँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर