इरानमा आर्थिक संकटविरुद्धको आन्दोलन हिंसात्मक बन्दै, देशभर फैलियो प्रदर्शन

इरानमा आइतबारदेखि सुरु भएको सरकारविरोधी प्रदर्शन छैटौँ दिनमा आइपुग्दा हिंसात्मक रूप लिँदै देशका विभिन्न प्रान्तहरूमा फैलिएको छ। राजधानी तेहरानबाट सुरु भएको आन्दोलन लोरेस्तान, चारमहल–बख्तियारी, इस्फाहान, खुजेस्तान, केरमानशाह, हमेदानलगायतका सहरहरूमा फैलिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

सरकारको आर्थिक नीतिको विरोधमा तेहरानको ग्रान्ड बजारका व्यापारीहरूले बजार बन्द गर्दै सुरु गरेको प्रदर्शन इरानी मुद्राको तीव्र अवमूल्यन र दैनिक उपभोग्य वस्तुहरूको मूल्य अत्यधिक बढेपछि चर्किएको हो।

प्रदर्शन हिंसात्मक बन्दै जाँदा विभिन्न प्रान्तमा ज्यान जाने घटनाहरू समेत भएका छन्। पछिल्ला तीन वर्षयताकै सबैभन्दा ठूलो विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा मृत्यु र घाइतेको संख्या बढ्दै गएको इरानी सञ्चारमाध्यम र मानवअधिकार संस्थाहरूले बताएका छन्।

अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार पश्चिमी लोरेस्तान प्रान्तमा प्रहरी चौकीमाथि भएको आक्रमणपछि भएको झडपमा तीन जना प्रदर्शनकारीको मृत्यु र १७ जना घाइते भएका छन्। फार्सका अनुसार बिहीबार साँझ प्रदर्शनकारीहरू प्रहरी मुख्यालयमा प्रवेश गरेपछि झडप भएको र केही प्रहरी सवारी साधनमा आगजनीसमेत गरिएको थियो।

यसअघि चारमहल–बख्तियारी प्रान्तको लोर्डेगान सहरमा पनि झडपका क्रममा मृत्यु भएको फार्स र कुर्द मानवअधिकार समूह हेंगावले पुष्टि गरेका छन्। अधिकारीहरूले पश्चिमी कुहदश्त सहरमा एक जनाको मृत्यु भएको स्वीकार गरेका छन् भने इस्फाहान प्रान्तमा अर्का एक प्रदर्शनकारी मारिएको हेंगावको दाबी छ।

फार्सका अनुसार लोर्डेगानमा सुरक्षाबल र ‘सशस्त्र प्रदर्शनकारी’बीचको झडपमा दुई जनाको मृत्यु भएको हो। तर हेंगावले सुरक्षाबलको गोलीबाट कैयौँ प्रदर्शनकारी मारिएको र घाइते भएको आरोप लगाएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड्सले कुहदश्तमा आफ्नो मातहतको बासिज स्वयंसेवक समूहका एक सदस्यको मृत्यु र १३ जना घाइते भएको जनाएको छ। तर हेंगावका अनुसार मृतक अमिरहोसाम खोदायारी फर्द प्रदर्शनमा सहभागी थिए र सुरक्षाकर्मीको गोलीबाट मारिएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खबर