स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अपनाउन मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।
मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम घट्दा शीतलहर, हुस्सु, कुहिरो र हिमपातका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्क (हाइपोथर्मिया) जस्ता समस्या देखिने गरेका छन्। पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्दो वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अंगमा गम्भीर असर पार्दै दम र क्यान्सरजस्ता दीर्घ रोगको जोखिम तथा मृत्युदरसमेत बढाएको मन्त्रालयले जनाएको छ।
विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरू जाडोयाममा बढी जोखिममा रहने भएकाले उनीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। जाडोबाट जोगिन न्यानो लुगा लगाउने, धुवाँ–धुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित आहार खाने, भिटामिन–सी प्रशस्त मात्रामा भएका फलफूल (सुन्तला, कागती, अमला) तथा ताजा फलफूल र सागसब्जी सेवन गर्ने, सरसफाइमा ध्यान दिने र प्रशस्त झोल पदार्थ पिउने सुझाव मन्त्रालयले दिएको छ।
चिसोका कारण देखिने समस्या लामो समयसम्म रहिरहे वा बढ्दै गएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मार्फत परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ।
त्यस्तै, जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन मन्त्रालयले चेतावनी दिएको छ। राम्रो हावापास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा रंग र स्वादरहित विषाक्त कार्बन मोनोअक्साइड ग्यास जम्मा भई ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेला निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न आग्रह गरिएको छ।
यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, चक्कर लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्तै हावा आवत–जावत गराउने वा खुला स्थानमा जाने र समस्या कायम रहेमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न मन्त्रालयले सबैलाई सचेत गराएको छ।




