भेनेजुएलाले आफ्नो भूमिमा अमेरिकाले सैन्य आक्रमण गरेको गम्भीर आरोप लगाउँदै देशभर आपतकाल घोषणा गरेको छ। शनिबार बिहान राजधानी कराकससहित विभिन्न स्थानमा एकैसाथ विस्फोटका घटनाहरू भएका थिए।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ती घटनालाई अमेरिकाद्वारा गरिएको “अत्यन्त गम्भीर सैन्य हमला”को संज्ञा दिएका छन्। सरकारी विवरणअनुसार कराकससँगै मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यहरूमा एकै समय आक्रमण भएको थियो।
आक्रमणपश्चात् राष्ट्रपति मादुरोले देशभर आपतकाल लागू गर्दै राष्ट्रिय रक्षा बलहरू पूर्ण रूपमा परिचालन गर्न आदेश दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार उनले आवश्यक समय र परिस्थितिअनुसार सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
राष्ट्रपति मादुरोले देशको सार्वभौमिकता र सुरक्षाका लागि सामाजिक तथा राजनीतिक शक्तिहरूलाई एकजुट भई प्रतिरक्षामा उत्रिन आह्वान गरेका छन्।
“भेनेजुएलाका जनता र बोलिभेरियन राष्ट्रिय सशस्त्र बल लोकप्रिय–सैन्य–प्रहरी एकतासहित सार्वभौमिकता र शान्ति सुनिश्चित गर्न तैनाथ भएका छन्,” सरकारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
भेनेजुएला सरकारले अमेरिकाको कदमको कडा निन्दा गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्, महासचिव तथा अन्य अन्तर्राष्ट्रिय निकायहरूमा औपचारिक उजुरी दर्ता गर्ने जनाएको छ। साथै, अन्तर्राष्ट्रिय समुदायमार्फत अमेरिकाको कथित आक्रमणको भर्त्सना गरिनुपर्ने माग पनि अघि सारेको छ।
यता, ह्वाइट हाउस र पेन्टागनले भेनेजुएलामा भएको घटनाबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मादुरो सरकारमाथि मानवअधिकार उल्लंघन, चुनावी धाँधली र लागुऔषध तस्करीको आरोप लगाउँदै भेनेजुएलामा सरकार परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्दै आएको छ। भेनेजुएलाले भने ती सबै आरोप अस्वीकार गर्दै अमेरिकाले आफ्नो विशाल तेल स्रोतमा पहुँच जमाउन सरकार परिवर्तनको प्रयास गरिरहेको दाबी गर्दै आएको छ।
गत महिना अमेरिकाले भेनेजुएलातर्फ जाने–आउने जहाजहरूमा कडा अवरोध (ब्लकेड) घोषणा गरेको थियो। क्यारेबियन क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढाइनु र लागुऔषध तस्करीको आरोपमा विभिन्न जहाजमाथि भएका कारबाहीले दुई देशबीचको तनाव अझ चर्किएको छ।




