भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण, राष्ट्रपति मादुरो नियन्त्रणमा — नयाँ सरकार गठन नहुँदासम्म अमेरिका शासन चलाउने ट्रम्पको घोषणा

काठमाडौं, २० पुस — अमेरिकाले भेनेजुएलामा ठूलो सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिई न्यूयोर्क पुर्‍याएको दाबी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अमेरिका स्वयंले शासन सञ्चालन गर्ने घोषणा गरेका छन्।

अमेरिकी सेनाले शनिबार राजधानी कराकाससहित विभिन्न शहरमा आक्रमण गरेको थियो। उक्त कारबाहीका क्रममा अमेरिकी सेनाको विशेष आतंकवादविरोधी इकाइ ‘डेल्टा फोर्स’ ले राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको बताइएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत मादुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको भन्दै तस्बिर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको तस्बिरमा मादुरोको हातमा हतकडी लगाइएको, आँखामा कालोपट्टी बाँधिएको र ग्रे रंगको ट्र्याकसुट तथा हेडफोन लगाएको देखिन्छ।

फ्लोरिडास्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने,
“सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले सञ्चालन गर्नेछ।”

लागुऔषध कारोबारको आरोपमा अमेरिका अदालतमा मुद्दा

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। मादुरोमाथि लामो समयदेखि लागुऔषध कारोबारलाई संरक्षण दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्,
“निकोलस मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिनगन तथा खतरनाक हतियार राख्ने र प्रयोग गर्ने अभियोग लगाइएको छ।”

उनले थप उल्लेख गरेकी छन् कि मादुरोले चाँडै अमेरिकी अदालतमा उपस्थित भएर न्यायिक प्रक्रियाको सामना गर्नेछन्। यद्यपि, मादुरोकी पत्नीमाथि लगाइने आरोपबारे अझै स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको रूस, चीन र कोलम्बियालगायत देशहरूले कडा निन्दा गरेका छन्।

रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाको कदमलाई “गम्भीर चिन्ताको विषय” भन्दै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको जनाएको छ। कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको चार्टरअनुसार कुनै पनि एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने स्पष्ट पारेको छ।

हालसम्म आक्रमणबाट भएको सैन्य तथा मानवीय क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। आक्रमण भएका क्षेत्रहरूमा बम विस्फोट र धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

भेनेजुएलाको प्रतिक्रिया: “हामी झुक्नेछैनौं”

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारले राष्ट्रपति मादुरो र प्रथम महिलाबारे कुनै आधिकारिक जानकारी नपाएको बताउँदै दुवै जीवित रहेको प्रमाण तत्काल सार्वजनिक गर्न माग गरेकी छन्।

रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको जानकारी दिँदै देशभर सैन्य बल परिचालन गरिएको घोषणा गरेका छन्। उनले विदेशी सैनिकको उपस्थितिको कडा विरोध गर्ने चेतावनी दिएका छन्।

स्पेनी भाषामा जारी भिडियो सन्देशमा उनले यसलाई “भेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण” भन्दै जनतालाई एकताबद्ध हुन आह्वान गरे।
उनको भनाइ थियो, “हामीमाथि आक्रमण भयो, तर हामी कहिल्यै झुक्नेछैनौं।”

प्रतिक्रिया
सम्बन्धित खबर