काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम थप घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दुई दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्रीले घट्दै आज ३.५ डिग्री सेल्सियसमा झरेको छ, जुन यस वर्षकै सबैभन्दा कम हो।
विभागका तथ्याङ्कअनुसार पुस १९ गते काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे ३.५ डिग्री मापन गरिएको हो। हिजो काठमाडौँको तापक्रम ४ डिग्री थियो। मौसमविद् विनु महर्जनका अनुसार जनवरी महिनाभर तापक्रम क्रमशः घट्दो क्रममा रहने सम्भावना छ। काठमाडौँसँगै देशका धेरै स्थानमा पनि चिसो बढ्दै गएको उनले बताइन्।
पुस महिना सुरु भएदेखि नै देशभर तापक्रम घट्ने क्रम जारी रहेको छ। पुसको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्तामा चिसो थप बढेको देखिएको छ। पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो भने पुस १५ गते ४.८, पुस १७ गते ४.६ र पुस १९ गते ४.५ डिग्रीमा झरेको थियो।
देशभर आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.३ डिग्री मापन गरिएको छ। पुस १९ गते जुम्लाको तापक्रम माइनस ४.९ डिग्री रहेको थियो।
अन्य स्थानहरूमा पनि तापक्रम घटेको छ। डडेलधुरामा २.७ बाट २.१ डिग्री, दिपायलमा ६ बाट ४.४, वीरेन्द्रनगरमा ५ बाट ३.८, घोराहीमा ८ बाट ५.७, पोखरामा ८.५ बाट ७.९ र ओखलढुङ्गामा ४.९ बाट ४.३ डिग्रीमा झरेको छ। ताप्लेजुङ, सिमरा र धनकुटामा भने तापक्रम थोरै मात्र बढेको छ।
विभागका अनुसार देशभर अधिकतम तापक्रम भने हाल २२ डिग्री सेल्सियसभन्दा तल नै रहेको छ।




