२१ पुस, काठमाडौं — मुस्लिम समुदायको प्रदर्शनका कारण उत्पन्न तनाव नियन्त्रण गर्न वीरगञ्जमा आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरेका हुन्।
सूचनाअनुसार अर्को आदेश नभएसम्म वीरगञ्ज महानगरपालिकाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। कर्फ्यु उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
धनुषाको एक मस्जिदमा शनिबार भएको तोडफोडको घटनापछि मुस्लिम समुदायले वीरगञ्जमा प्रदर्शन थालेका थिए। यस घटनाले वीरगञ्जसहित मधेसका विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढाएको छ।
यसैबीच, आज हिन्दु समुदायले पनि ‘जय श्रीराम’को नारा लगाउँदै प्रदर्शन सुरु गरेपछि अवस्था झनै तनावग्रस्त बनेको प्रशासनको भनाइ छ।
कर्फ्यु लागू गरिएको क्षेत्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म फैलिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ र शान्ति–सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।




