२२ पुस, काठमाडौं — देशभर चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् बढी जाडो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ, जुन यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।
मौसमविद् डेभिड ढकालका अनुसार पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम निरन्तर घट्दो क्रममा छ । शनिबार ४.७, आइतबार ४, सोमबार ३.५ र मंगलबार ३.४ डिग्री सेल्सियस मापन भएको हो । यद्यपि, आजको तापक्रम यस वर्षकै कम भए पनि जनवरी ६ तारिखको सरदर न्यूनतम तापक्रम (२.२ डिग्री सेल्सियस) भन्दा भने केही बढी नै रहेको उनले स्पष्ट पारे ।
अधिकतम तापक्रममा भने खासै ठूलो परिवर्तन देखिएको छैन । तराईका क्षेत्रमा हिजो घाम लागेकाले अधिकतम तापक्रममा सामान्य वृद्धि भएको मौसमविद् ढकालले बताए ।
तराई–मधेशमा हुस्सु र कुहिरो कायमै
तराईका जिल्लाहरूमा बिहानपख देखिने हुस्सु र कुहिरो अझै केही दिन जारी रहने सम्भावना छ । यद्यपि, मध्याह्नपछि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने अनुमान गरिएको छ । शीत चुहिने चिसोका कारण तराई–मधेशका विभिन्न स्थानमा दैनिक जनजीवन प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । तर मौसम विज्ञान विभागका अनुसार हालको अवस्थालाई औपचारिक रूपमा ‘शीतलहर’ भने भन्न सकिने अवस्था छैन ।
आगामी तीन दिन वर्षाको सम्भावना न्यून
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना देखिँदैन । देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुन सक्छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्यत्र वर्षाको तत्काल कुनै संकेत छैन । आगामी दिनमा ठूलो वर्षा गराउने मौसमी प्रणाली सक्रिय हुने देखिँदैन ।
हिउँदे वर्षा घट्दै, सुक्खा बढ्दो चिन्ता
जल तथा मौसम विज्ञान विभागले यस वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने प्रक्षेपण यसअघि नै गरेको थियो । सोही अनुसार लामो समयदेखि पानी पर्न सकेको छैन । विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा हिउँदे वर्षा क्रमशः घट्दै गएको छ, जसले सुक्खा बढाउनुका साथै मानव स्वास्थ्य र कृषि प्रणालीमा नकारात्मक असर पारिरहेको छ । यस अवस्थालाई धेरैले जलवायु परिवर्तनको प्रभावका रूपमा लिएका छन् ।




