काठमाडौं, २२ पुस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। पार्टीका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीको बयानका ६ प्रमुख बुँदाहरू सार्वजनिक गरेका हुन्।
बस्नेतका अनुसार अध्यक्ष ओलीले आइतबार जाँचबुझ आयोगसमक्ष बयान दिएका थिए। बयान लिन आयोगका अधिकारीहरू भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेका थिए। उक्त बयानमा ओलीले आन्दोलनको पृष्ठभूमि, घटनाक्रम, सुरक्षा निकायको भूमिका र आयोगको निष्पक्षतासम्बन्धी धारणा राखेका छन्।
ओलीले २२ भदौको बेलुका बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने, बल प्रयोग नगर्ने र युवा तथा विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको बताएका छन्। तर आन्दोलनका क्रममा घुसपैठ र अराजक समूह प्रवेश गरेको कुरा आन्दोलनमा संलग्न केही युवाहरूले नै स्वीकार गरिसकेको उनको भनाइ छ।
उनले आन्दोलनमा सहभागी अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको दाबी गर्दै तत्कालीन फोटो र भिडियोहरूले त्यसलाई प्रस्ट देखाउने बताएका छन्। ओलीका अनुसार २३ भदौमा तोडफोड सुरु हुनुका साथै एक्कासि गोली प्रहार भएको अवस्था आएपछि गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको थियो।
२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिए पनि विभिन्न कारणले त्यो सम्भव हुन नसकेको कुरा पनि ओलीले आयोगसमक्ष बताएका छन्। साथै, जाँचबुझ आयोगका सदस्य गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघिपछि सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै निष्पक्ष प्रतिवेदन आउने विषयमा आफूलाई आशंका रहेको ओलीको भनाइ रहेको बस्नेतले सार्वजनिक गरेका छन्।
ओलीको बयान सार्वजनिक भएपछि २३–२४ भदौको घटनाबारे राजनीतिक वृत्तमा पुनः बहस सुरु भएको छ। जाँचबुझ आयोगले घटनासम्बन्धी तथ्य संकलन र बयान लिने कामलाई निरन्तरता दिइरहेको छ भने आयोगको प्रतिवेदनलाई सबै पक्षले चासोका साथ हेरिरहेका छन्।




