काठमाडौं । हालै सम्पन्न निर्वाचनको मतपरिणामले दल र उम्मेदवारबीचको लोकप्रियताको फरक चित्र देखाएको छ । प्रत्यक्ष निर्वाचनमा उम्मेदवारले पाएको मत र समानुपातिक प्रणालीमा दलले पाएको मतबीच उल्लेखनीय अन्तर देखिएको छ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ बढी मत प्राप्त गरेका छन्। यसले ती दलहरूको पार्टी छवि र मुद्दाप्रति मतदाताको आकर्षण बलियो रहेको संकेत गर्छ।
रास्वपाले देशभर १६३ क्षेत्रमा उम्मेदवार उठाएर १२५ क्षेत्रमा जित हासिल गरेको छ। प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवारहरूले ४५ लाख ८७ हजार ९९५ मत प्राप्त गरेका छन् भने समानुपातिकतर्फ पार्टीले ५१ लाख ८३ हजार ४९३ मत पाएको छ, जुन प्रत्यक्षभन्दा उल्लेख्य रूपमा बढी हो।
त्यस्तै श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ लाख ६९५ मत पाउँदा समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको छ। राप्रपाले प्रत्यक्षतर्फ २ लाख ७ हजार ६८ मत पाए पनि समानुपातिकतर्फ ३ लाख ३० हजार ६८४ मत ल्याएको छ।
यसको विपरीत नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जस्ता पुराना दलहरूको अवस्था फरक देखिएको छ। यी दलका उम्मेदवारहरूले प्रत्यक्षतर्फ पाएको मत पार्टीले समानुपातिकतर्फ पाएको मतभन्दा बढी रहेको छ।
कांग्रेसले प्रत्यक्षतर्फ १८ लाख ९३ हजार ४५३ मत पाउँदा समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत पाएको छ। एमालेले प्रत्यक्षतर्फ १५ लाख ९२ हजार ६६४ मत प्राप्त गर्दा समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत ल्याएको छ। नेकपाले प्रत्यक्षतर्फ ९ लाख ५६ हजार ९३९ मत पाउँदा समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत प्राप्त गरेको छ।
प्रदेशगत रूपमा हेर्दा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रास्वपाको प्रभाव उल्लेखनीय देखिएको छ। धेरै प्रदेशमा रास्वपाले समानुपातिकतर्फ प्रत्यक्षभन्दा बढी मत पाएको छ भने कांग्रेस, एमाले र नेकपामा यसको उल्टो अवस्था देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो परिणामले मतदाताले कतिपय अवस्थामा उम्मेदवारको व्यक्तित्व हेरेर प्रत्यक्षमा भोट हाल्ने र पार्टीका मुद्दा तथा नीतिप्रति आकर्षित भएर समानुपातिकमा मत दिने प्रवृत्ति देखिएको संकेत गर्छ।
विश्लेषक चन्द्रदेव भट्टका अनुसार बलियो र प्रभावशाली उम्मेदवार हुँदा प्रत्यक्षमा बढी मत आउँछ भने पार्टीका मुद्दा लोकप्रिय हुँदा समानुपातिक मत बढ्ने गर्छ।
(स्रोत: निर्वाचन आयोग नेपाल)




