बगदाद । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावास परिसरमा मिसाइल आक्रमण भएको छ। इराकी अधिकारीहरूका अनुसार दूतावासभित्र रहेको हेलिप्याडलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
समाचार एजेन्सी एपीका अनुसार आक्रमणपछि दूतावास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। आक्रमणबाट भएको क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन।
यसैबीच, साउदी अरेबियाको एक एयरबेसमा पार्क गरिएका अमेरिकी वायुसेनाका पाँचवटा ट्याङ्कर विमान पनि ध्वस्त पारिएको खबर आएको छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ती विमानहरू इन्धन भर्ने क्रममा रहेको बेला आक्रमण भएको थियो।
प्रतिवेदनमा ती विमानहरू इरानी आक्रमणका कारण क्षतिग्रस्त भएको उल्लेख गरिएको भए पनि आक्रमण कहिले भएको थियो भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसै क्रममा हिजो अमेरिकी वायुसेनाको बोइङ केसी–१३५ इन्धन भर्ने विमान इराकमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा विमानमा रहेका चालक दलका सबै छ जना सदस्यको मृत्यु भएको बताइएको छ।
हाल जारी इरानसँगको तनावपूर्ण अवस्थाबीच हालसम्म ११ जना अमेरिकी सेवा सदस्यहरूले ज्यान गुमाइसकेको बताइएको छ। घटनाहरूले मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था झनै संवेदनशील बन्ने संकेत देखिएको छ।
(तस्बिर स्रोत: अन्तर्राष्ट्रिय समाचार एजेन्सी)




