सुनसरी । सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिकामा एक जना स्थानीयको मृत्यु भएको छ। मृतक कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह हुन्।
सुनसरी प्रहरीका अनुसार तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लाग्दा उक्त घटना भएको हो। घटना गए राति करिब १ः१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको जनाइएको छ।
प्रहरी प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार विजय साह इ–रिक्सा (सिटी सफारी) मार्फत भारतबाट चिनी ल्याउँदै थिए। सो क्रममा सशस्त्र प्रहरीसँग विवाद उत्पन्न भएपछि गोली चलेको स्थानीयको भनाइ छ। घटनापछि स्थानीयले लेनदेन विवादका कारण गोली हानिएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्।
तर सशस्त्र प्रहरीले भने तस्करसँगको भिडन्तका क्रममा घटना भएको दाबी गरेको छ। सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेका अनुसार चोरीका सामान बोकेको सवारी साधन रोक्न खोज्दा स्थिति तनावग्रस्त बनेको र त्यसक्रममा एपीएफबाट जबाफी फायरिङ भएको हो।
घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीयले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।




