मंसिर ९, २०८३ बुधबार | महासचिव शङ्कर पोखरेलले दुवै तहको निर्वाचन एकैपटक गर्न नहुने बताउँदै सरकारले तालिकामा अन्योल फैलाएको आरोप लगाए; वामपन्थी तालमेलको सम्भावना पनि खुला राखे
दाङ, ९ मंसिर। नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गरिसक्नुपर्ने अडान दोहोर्याएको छ। महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने भन्दै तोकिएकै समयमा चुनाव गर्न सरकारसँग माग गरे।
तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको कार्यकाल आगामी जेठ ५ गते सकिने जनाउँदै वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने पार्टीको धारणा राखे।
“प्रदेशको निर्वाचन मंसिरमा पर्ने अवस्थामा स्थानीय तहलाई छ महिनासम्म जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुँदैन,” उनले भने। यसले राष्ट्रियसभा गठन र राष्ट्रपतिको निर्वाचन प्रक्रियासमेत प्रभावित पार्ने उनको चेतावनी छ।
दुवै तहको निर्वाचन एकैपटक गर्न नसकिने भन्दै पोखरेलले यस विषयमा सरकारले अन्योल सिर्जना गरेको आरोप लगाए। उनले आगामी स्थानीय निर्वाचनमा वामपन्थी शक्तिबीच तालमेल हुनसक्ने संकेत गर्दै एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच छलफल भइरहे पनि टुंगो नलागेको बताए।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे प्रश्नमा उनले भने, “राष्ट्रिय मुद्दा ओझेलमा परेका छन्।” संविधान संशोधनका सन्दर्भमा भने जनताका अधिकार खोस्ने होइन, संविधानलाई सुदृढ गर्ने उद्देश्यले मात्र संशोधन गर्न सकिने उनले बताए।




