कालीमाटी बजारमा फेरि रायो सागमा अत्यधिक विषादी भेटियो

काठमाडौं, साउन ७ – दोलखाबाट कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा अत्यधिक मात्रामा अर्गानोफस्फेट नामक विषादी भेटिएको छ। केन्द्रीय कृषि प्रयोगशालाले बुधबार परीक्षण गर्दा उक्त रायो सागमा ८०.९५९० प्रतिशत विषादी रहेको पुष्टि गरेको छ, जुन सरकारले तोकेको सुरक्षित सीमा भन्दा धेरै माथि हो।

बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारका १७ वटा पसलबाट संकलन गरिएको १७ प्रकारका तरकारी तथा फलफूलमध्ये रायो सागमा अत्यधिक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। सो रायो साग उपभोगका लागि अयोग्य घोषित गरिएको छ।

यसअघि २४ असारमा भक्तपुरबाट ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो भने २६ असारमा काभ्रेबाट ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादी पाइएको थियो।

सरकारले ३५ प्रतिशतभन्दा कम विषादी रहेको तरकारीलाई उपभोगयोग्य मानेको छ। ३५ देखि ४५ प्रतिशतसम्मको अवस्थामा केही दिन राखेर मात्र उपभोग गर्न सकिने नियम छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी भएमा त्यसलाई उपभोग अयोग्य मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर