बेलग्रेड, सर्बिया — सर्बियाका राष्ट्रपति एलेक्जान्डर भुचिचले देशभर फैलिएको विरोध प्रदर्शन र हिंसात्मक झडपपछि प्रदर्शनकारीहरूमाथि कडा कदम चाल्ने चेतावनी दिएका छन्। पछिल्ला दिनहरूमा भएको अशान्तिले बाल्कन मुलुकमा उनको बढ्दो अधिनायकवादी शासनलाई चुनौती दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भुचिचले आइतबार टेलिभिजन सम्बोधनमार्फत विरोधलाई “शुद्ध आतंकवाद” भन्दै आरोप लगाएका थिए। उनले लामो समयदेखि जारी आन्दोलनलाई पश्चिमा शक्तिहरूले योजना बनाई सर्बियालाई अस्थिर बनाउन प्रोत्साहित गरेको दाबी गरे।
“हाम्रो देश गम्भीर खतरामा छ, उनीहरूले हाम्रो मूल्य, सामान्य जीवन र प्रत्येक नागरिकलाई जोखिममा पारेका छन्,” उनले भने। “यदि हामीले तुरुन्त कडा कदम चालेनौं भने केही दिनमै उनीहरूले कसैलाई मार्छन्।”
भुचिचले एक साताभित्रै राज्यको “दृढ कदम” देखिने बताए पनि आपतकालीन अवस्था भने तत्काल घोषणा नहुने स्पष्ट पारे। उनले भने, “तपाईंहरूले सर्बियाको राज्यको संकल्प देख्नु हुनेछ। शान्ति र कानुन-व्यवस्था पुनःस्थापित गर्न हामीसँग भएको सबै साधन प्रयोग गर्नेछौं।”
पाँच दिनदेखि निरन्तर झडप
आन्दोलनले पाँच दिनदेखि निरन्तर हिंसात्मक रुप लिएको छ। शनिबार बेलुकी पश्चिम सर्बियामा भुचिचको सत्तारूढ प्रगतिशील पार्टीको कार्यालय र अन्य सत्तारूढ गठबन्धन सहयोगी दलका कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। राजधानी बेलग्रेड र उत्तरी शहर नोवी साडमा समेत प्रहरीसँग उग्र झडप भएको थियो। प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो भने प्रदर्शनकारीहरूले स्टन ग्रिनेड, फ्लेयर र बोतल प्रहार गरेका थिए।
पछिल्ला घटनामा दर्जनौँ घाइते भएका छन् र सयौँलाई प्रहरी हिरासतमा लिएको छ। प्रहरीमाथि अत्यधिक बल प्रयोग र मनपरी पक्राउको आरोपसमेत लागेको छ।
भ्रष्टाचारविरुद्धको लामो आन्दोलन
यो हिंसात्मक मोड आउनु अघि करिब नौ महिनादेखि सर्बियामा शान्तिपूर्ण आन्दोलन चलिरहेको थियो। यो आन्दोलन उत्तरी सर्बियाको एक रेल स्टेशनमा कङ्क्रिट छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको हो। सर्वसाधारणले उक्त दुर्घटनालाई राज्य–नियन्त्रित ठेक्कापट्टा प्रकल्पमा देखिएको व्यापक भ्रष्टाचारसँग जोडेर आन्दोलन चर्काएका थिए।
भुचिचविरुद्ध लामो समयदेखि प्रेस स्वतन्त्रता दमन, अपराध र भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लाग्दै आएको छ। उनले भने यी सबै आरोप अस्वीकार गरेका छन्।
अन्तर्राष्ट्रिय परिप्रेक्ष्य
सर्बिया युरोपेली संघमा प्रवेश गर्ने प्रक्रियामा औपचारिक रूपमा रहँदै आएको छ, तर राष्ट्रपति भुचिचले रुस र चीनसँग नजिकको सम्बन्ध कायम राखेका छन्। आइतबार उनले रुसले आफ्नो सरकारलाई दिएको समर्थनको खुलेर प्रशंसा गर्दै यस आन्दोलनलाई “रङ्गीन क्रान्ति” को संज्ञा दिए।




