३ भदौ, काठमाडौं । अमेरिकामा औपचारिक कार्यक्रममा सहभागी भइरहेकी प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलले पदबाट हटाउने तयारी थालेपछि उनी आक्रामक बनेकी छन् ।
रानाले आफूलाई लगाइएको आरोपलाई राजनीतिक स्वार्थप्रेरित भन्दै खण्डन गरेकी छन् । अनलाइनखबरसँग अमेरिकाबाटै गरेको टेलिफोन संवादमा उनले भनिन्,
“अपराध गरेको प्रमाणित भए जेल हाल्न पर्यो नि । सामान्य विषयमा स्वार्थका लागि आरोप लगाउन मिल्छ ? कस्तो राजनीतिक संस्कृति हो ? यही हो लोकतन्त्र ?”
रानाले आफ्नो जीवनलाई “खुला किताब” भन्दै बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको बताइन् । “बालबालिकाका हकमा लडिरहेको छु । तर, राजनीतिक स्वार्थका लागि संगीन आरोप लगाइयो,” उनले गुनासो गरिन् ।
अमेरिकाबाटै बढ्दो राजनीतिक हलचल
उपसभामुख राना अमेरिकामा ‘डेमोक्रेसी सम्बन्धी’ कार्यक्रममा सहभागी छिन् । तर, रातको करिब १ बजे उनलाई नेपालबाट फोन र म्यासेज आउन थालेपछि सत्तारुढ दलहरूले हटाउने तयारी गरेको थाहा पाएकी थिइन् ।
“म त निद्रामै थिएँ । फोन र म्यासेजपछि मात्र थाहा पाएँ,” उनले भनिन् ।
यता नेपालमा कांग्रेस–एमालेका नेताहरू हस्ताक्षर संकलनमा जुटिसकेका छन् । दुई तिहाइ पुर्याएर उपसभामुख हटाउने तयारी भइरहेको बुझिएको छ ।
तर, कांग्रेसभित्रको शेखर कोइराला समूहले भने हस्ताक्षर गरेको छैन । करिब १ वर्षअघि पनि रानालाई हटाउने प्रयास हुँदा शेखर विपक्षमा उभिएका थिए । यसपटक पनि उनको पक्षधरता रानाको पक्षमै रहेको बुझिन्छ ।
विपक्षी दलको प्रतिक्रिया
सत्तारुढ दलको कदमपछि विपक्षी दलहरूले आन्तरिक छलफल गरेका छन् । बैठकमा रास्वपाले ‘उपसभामुखको विषयलाई जनतासामु लैजानुपर्ने’ प्रस्ताव राखेको थियो । विपक्षीहरूले पनि यसलाई विरोध गर्ने निष्कर्ष निकालेका छन् ।
नेपाल फर्किने तयारी
रानाले आफू १३ भदौमा नेपाल फर्किने बताएकी छन् ।
“कामकै सिलसिलामा आएको हुँ । दुई वटा मिटिङ अझैं बाँकी छ । १३ गते नेपाल फर्किन्छु,” उनले भनिन् ।




