जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुर्गादेवीको प्रतिमा विसर्जनका क्रममा दुई समुदायबीच भएको झडपपछि स्थानीय प्रशासनले शुक्रबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ।
दशैं समापनसँगै मूर्ति विसर्जनमा निस्किएको जुलुसलाई लक्षित गर्दै ढुंगामुढा भएपछि विवाद सुरु भएको थियो। घटनाक्रममा तेलिया पोखरी किनारमा निर्माण गरिएको टहरा जलाइएको र केही घरमा आगजनी प्रयास भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले २३ राउन्ड अश्रुग्यास प्रहार गरेका थिए। ढुंगामुढामा केही प्रहरीसहित स्थानीय घाइते भएका छन्।
स्थिति संवेदनशील बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शुक्रबार साँझ ६:३० बजेदेखि वडा नं. २० का विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरेका छन्। आदेशअनुसार निषेधाज्ञा अवधिभर कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, धर्ना, अनशन, आगजनी वा तोडफोड गर्न प्रतिबन्ध लगाइएको छ।
यसअघि पनि भदौ दोस्रो साता मूर्ति विसर्जनकै विषयमा दुई समुदायबीच झडप भएको थियो। त्यसबेला सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने सहमति भए पनि पुनः विवाद दोहोरिएको हो।




