काठमाडौँ । इरानमा आर्थिक संकट र चरम मूल्यवृद्धिको विरोधमा २८ डिसेम्बरदेखि सुरु भएको सरकारविरोधी आन्दोलन १२ औँ दिनमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आन्दोलन हाल देशका ३१ मध्ये २७ प्रान्तमा फैलिसकेको छ।
अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार हालसम्म आन्दोलनका क्रममा चार नाबालिग र दुई सुरक्षाकर्मीसहित कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। बिहीबार राजधानी तेहरानमा एक प्रहरीमाथि प्रदर्शनकारीले चक्कु प्रहार गरेको घटना समेत सार्वजनिक भएको छ।
प्रदर्शनकारीहरूले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित इस्लामिक शासनका प्रमुख व्यक्तिहरूको राजीनामा माग गर्दै लोकतन्त्रको पक्षमा नारा लगाइरहेका छन्। लोरेस्तान, केरमानशाह, मशहद, काजभिन, शाहरेकोर्ड, हमेदान तथा इलाम प्रान्तको अब्दानान शहरमा हजारौँको सहभागितामा प्रदर्शन भएको छ।
सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा आन्दोलनकारीहरू लाठी र अश्रुग्यासको सामना गर्दै सुरक्षाकर्मीसँग भिडिरहेको देखिन्छ। बजार क्षेत्रमा ‘स्वतन्त्रता’का नारा गुञ्जिरहेका छन् भने सरकारी अधिकारीहरूमाथि तीव्र आलोचना भइरहेको छ।
मुद्रास्फीति ऐतिहासिक न्यून बिन्दुमा
मंगलबार इरानी रियाल अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको छ। एक डलर बराबर १४ लाख ७० हजार रियाल पुगेपछि आर्थिक संकट झनै गहिरिएको छ। यसले सर्वसाधारण र लगानीकर्ताबीच गहिरो अविश्वास पैदा गराएको छ।
मूल्यवृद्धिका कारण परम्परागत बजारमा व्यापारीहरूले पसल बन्द गर्न थालेका छन्। खाना पकाउने तेलको मूल्य यसै साता झन्डै तीन गुणाले बढेको छ। सरकारले ल्याएका आर्थिक सुधार योजनाहरूले अपेक्षित परिणाम दिन नसकेको जनगुनासो बढ्दो छ।
सरकारको कडा चेतावनी
प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी–एजेईले दंगा गर्नेहरूलाई कुनै दया नदेखाइने चेतावनी दिएका छन्। यद्यपि, सरकारी दमनका बाबजुद आन्दोलन मत्थर भएको छैन।
मलेक्शाही काउन्टीमा ब्यारेक नजिक प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा घाइते र मृतकका परिवारले अस्पतालमै सरकारविरोधी नाराबाजी गरेका थिए।
लामो इतिहासको निरन्तरता
इरानमा १९७९ को इस्लामिक क्रान्तिपछि सुरु भएको धार्मिक शासन प्रणालीविरुद्ध समय–समयमा आन्दोलन हुँदै आएका छन्। महिलाको हिजाब आन्दोलनदेखि १९९९ को विद्यार्थी आन्दोलन, २००९ को हरियो आन्दोलन, २०१९ को इन्धन मूल्यवृद्धि विरोध र २०२२ मा महसा अमिनीको मृत्युपछि भएको आन्दोलनसम्म, जनआक्रोश निरन्तर देखिँदै आएको छ।
विशेषज्ञहरूका अनुसार हालको आन्दोलन केवल आर्थिक नभई राजनीतिक, सामाजिक र नागरिक स्वतन्त्रतासँग जोडिएको गहिरो असन्तोषको परिणाम हो।
जर्ज वासिङटन विश्वविद्यालयका प्रोफेसर सिना आजादीका अनुसार, “सरकार समर्थक वर्गसमेत आर्थिक कठिनाइबाट गुज्रिरहेको छ, जुन अवस्था शासनका लागि गम्भीर चेतावनी हो।”
भविष्य झनै अनिश्चित
इरान अहिले विश्वकै उच्च मुद्रास्फीति दर भएका देशहरूमध्ये एक बनेको छ। अमेरिकी प्रतिबन्ध, युद्धको असर, भ्रष्टाचार र कमजोर अर्थतन्त्रका कारण जनजीवन झनै कष्टकर बन्दै गएको छ।
अहिलेको आन्दोलनले इरानी समाजमा गहिरो आर्थिक, राजनीतिक र सामाजिक असन्तोषलाई पुनः उजागर गरेको विश्लेषकहरू बताउँछन्। आन्दोलन कुन दिशामा जानेछ भन्ने कुरा अझै अनिश्चित छ, तर सरकारमाथिको दबाब भने दिनप्रतिदिन बढ्दो देखिन्छ।
(विभिन्न एजेन्सीहरुको सहयोगमा)




