काठमाडौं, २२ जेठ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी तथा तातो हावाको लहर (हीट वेभ) बढ्ने चेतावनी जारी गरेको छ। विभागका अनुसार आगामी कम्तीमा दुई दिनसम्म तराईका २० जिल्लामा गर्मीको प्रभाव तीव्र रहने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले जारी गरेको विशेष बुलेटिनअनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा तातो हावाको लहर चल्ने सम्भावना रहेको छ। यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी पूर्व (नवलपुर), चितवन, सुनसरी, मोरङ र झापामा तातो दिन (हट डे) को अवस्था रहने पूर्वानुमान गरिएको छ।
हाल देशमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। यसकै प्रभावका कारण पहाडी तथा हिमाली भूभागका केही स्थानमा बदली र वर्षाको सम्भावना रहे पनि तराई क्षेत्रमा वर्षा न्यून हुने भएकाले तापक्रम थप बढ्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
यद्यपि मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम स्तरको तातो हावाको लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।
गर्मी र तातो लहरबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विभागले दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा पर्याप्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ। साथै मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्राप्त गर्दै आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ।




