काठमाडौँ । भारत भ्रमणमा रहेका रवि लामिछाने ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन्। दुवै नेताबीच बिहान १०ः३० बजे औपचारिक भेटवार्ताको समय तय गरिएको बताइएको छ।
भ्रमणका क्रममा लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर तथा गृहमन्त्री अमित शाह सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
ती भेटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
भारत भ्रमणका क्रममा लामिछानेलाई भारतीय जनता पार्टीले विशेष स्वागत गरेको थियो। उनी नेतृत्वको प्रतिनिधिमण्डललाई रेड कार्पेटसहित स्वागत गरिएको बताइएको छ।
लामिछानेसहितको टोली यही जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। मोदीसँगको आजको भेटलाई नेपाल–भारत राजनीतिक सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले चासोका साथ हेरिएको छ।




