काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसमको अवस्था फरक–फरक रहने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पूर्वदेखि सुदूरपश्चिमसम्मका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। यद्यपि मंगलबार बिहान देशभर उल्लेखनीय वर्षा भएको छैन।
महाशाखाले मंगलबार दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने र तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहने जनाएको छ।
यस अवधिमा हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तापक्रम बढ्ने तथा तातो दिनको अनुभव हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
मंगलबार राति भने देशको हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।




