काठमाडौं, २१ जेठ । देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहँदा तराईका विभिन्न क्षेत्रमा गर्मी बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा तापक्रम वृद्धि भई केही स्थानमा तातो दिनको अवस्था रहने जनाएको छ।
महाशाखाका अनुसार हाल पश्चिमी क्षेत्र आसपासको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भूभागको मौसम प्रभावित भएको छ। अहिले गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
बुधबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औँल्याइएको छ।
आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ। पहाडी भूभाग तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले विशेषगरी तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।




