अमेरिका–इरान तनाव फेरि चर्कियो, सैन्य भिडन्तपछि शान्ति वार्ता अनिश्चित

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव फेरि चर्किएको छ। दुवै देशका सेनाबीच आक्रमण र प्रतिआक्रमणका घटना बढेपछि युद्ध अन्त्यका लागि चलिरहेको शान्ति वार्ता प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी सेनाले बुधबार इरानबाट प्रहार गरिएका मिसाइल तथा ड्रोनहरू खसाल्नुका साथै स्ट्रेट अफ होर्मुज नजिकका केही रणनीतिक लक्ष्यहरूमा पनि आक्रमण गरेको बताइएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले इरानका थुप्रै ब्यालिस्टिक मिसाइल र ड्रोनहरू निष्क्रिय बनाएको छ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा इरानद्वारा गरिएका आक्रमण प्रयासहरूको जवाफस्वरूप हर्मुजस्थित केश्म टापुमा ‘आत्मरक्षात्मक कारबाही’ गरिएको उल्लेख छ। यसअघि पनि अमेरिकी पक्षले पर्सियन खाडीमा इरानी बन्दरगाहतर्फ जाँदै गरेको एक खाली तेलवाहक जहाजलाई निष्क्रिय बनाएको दाबी गरेको थियो।

अमेरिकी कारबाहीको प्रतिक्रिया स्वरूप इरानले पनि प्रतिआक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइएको दाबी गरेको छ।

गत सातादेखि जारी सैन्य गतिविधिका क्रममा अमेरिकाले दक्षिणी इरानका विभिन्न सैन्य संरचना, राडार प्रणाली तथा कमान्ड एन्ड कन्ट्रोल केन्द्रहरूमा हवाई आक्रमण गरेको थियो। विशेषगरी गोरुक क्षेत्र र केश्म टापुस्थित सैन्य पूर्वाधारहरूलाई निशाना बनाइएको अमेरिकी पक्षले जनाएको छ।

यता, आईआरजीसीले दक्षिणी इरानको एक सञ्चार केन्द्रमा आक्रमण गर्न प्रयोग गरिएको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी जवाफी कारबाही गरेको दाबी गरेको छ। बिहीबार राति पनि अमेरिकाले आफ्ना सैनिक र अन्तर्राष्ट्रिय जल यातायातका लागि खतरा ठानिएका दक्षिणी इरानका सैन्य संरचनामाथि थप आक्रमण गरेको बताइएको छ।

यी घटनाहरू अमेरिका र इरानबीच विगत तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि भइरहेको वार्ताकै बीचमा सार्वजनिक भएका हुन्। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका केही महत्वपूर्ण बुँदामा संशोधन आवश्यक रहेको धारणा राखेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले इरानको आणविक कार्यक्रम, उच्च प्रशोधित युरेनियमको व्यवस्थापन तथा स्ट्रेट अफ होर्मुजमा जहाजहरूको निर्बाध आवागमन सम्बन्धी विषयमा थप स्पष्टता खोजेका छन्। यससँगै अमेरिकी वार्ता टोलीलाई प्रस्तावित सम्झौताका केही बुँदामा पुनः छलफल गर्न निर्देशन दिइएको बताइएको छ।

सैन्य गतिविधि तीव्र बन्दै जाँदा र कूटनीतिक सहमति अझै टुंगोमा नपुग्दा अमेरिका–इरान सम्बन्ध थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ। युद्धविराम र दीर्घकालीन शान्तिको प्रयास जारी रहे पनि पछिल्ला घटनाक्रमले वार्ताको भविष्यलाई थप अनिश्चित बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर