राष्ट्रिय सभामा बजेटमाथि आजदेखि छलफल प्रारम्भ

काठमाडौं, जेठ १९ — संघीय संसद् राष्ट्रिय सभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने भएको छ। राष्ट्रिय सभाको सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठक आज अपराह्न १:१५ बजे बस्नेछ।

बैठकको प्रारम्भमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यक्रम रहेको छ।

त्यसपछि व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, अर्थमन्त्री वाग्लेले “आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव प्रस्तुत भएपछि राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटमाथि औपचारिक रूपमा सामान्य छलफल सुरु हुनेछ।

सरकारले हालै सार्वजनिक गरेको बजेटका विभिन्न पक्ष, प्राथमिकता, विकास कार्यक्रम, राजस्व परिचालन तथा सार्वजनिक खर्च व्यवस्थापनका विषयमा राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय सभाका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी कार्यसूचीअनुसार आजको बैठक बजेटमाथिको संसदीय बहसको महत्वपूर्ण सुरुआतका रूपमा रहनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर