काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार १०० रुपैयाँले घट्दा चाँदी पनि प्रतितोला ५५ रुपैयाँले सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ हजार २३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको कारोबार प्रतिऔंस ४ हजार ४४५ अमेरिकी डलर हाराहारीमा भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।
हाल सुनचाँदीको मूल्यमा आएको गिरावटले लगानीकर्ता तथा उपभोक्तालाई केही राहत पुगेको छ भने आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिअनुसार मूल्यमा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।




