ट्रम्पद्वारा चीनसँग पुनः व्यापार युद्धको घोषणा, भन्सार दर १३० प्रतिशत पुर्‍याइने

२५ असोज, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्ध पुनः तीव्र बनाउँदै चीनबाट आउने सामानमा भन्सार दर १३० प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्।

आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत ट्रम्पले हाल लागू भइसकेको ३० प्रतिशत भन्सारमा थप १०० प्रतिशत वृद्धि गरिने बताएका छन्। नयाँ दर आगामी नोभेम्बर १ देखि लागू हुनेछ।

‘अब चीनमाथि अहिले तिरिँदै आएको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेखेका छन्, ‘साथै नोभेम्बर १ देखि सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरमा निर्यात नियन्त्रण पनि लागू हुनेछ।’

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेलगत्तै चीनसँग व्यापार युद्ध पुनः थालेका हुन्। यसअघि पनि उनको कार्यकालमा अमेरिका र चीनबीच १४५ प्रतिशतसम्म भन्सार दर पुगेको थियो। त्यसबेलाको व्यापार युद्धमा चीनले पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएको थियो। पछि स्वीटजरल्याण्डमा भएको वार्ताबाट दुबै देशले भन्सार दर ११५ प्रतिशतमा घटाउने सहमति गरेका थिए।

यसैबीच, अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा पुनः कडाइ गरेपछि ट्रम्पले यो कदम चालेका हुन्। हाल चीनले ती खनिज प्रयोग गरेर अन्य देशमा बनेका वस्तु निर्यात गर्न पनि आफ्नै वाणिज्य मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

ब्लुमबर्गका अनुसार चीनको नयाँ प्रतिबन्ध अमेरिकी उच्च प्रविधि क्षेत्रका लागि थप चुनौती बन्नेछ। अमेरिकाले पनि यसअघि चीनका कम्पनीहरूलाई उच्चस्तरीय चिप्स र उत्पादन उपकरण खरिदमा रोक लगाएको थियो।

कैयौं अमेरिकी मोटर कम्पनीहरू दुर्लभ खनिजको अभावमा उत्पादन रोक्नुपर्ने स्थिति आएको थियो। यही कारण ट्रम्पले जुन ५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका थिए।

अब दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (APEC) शिखर सम्मेलनमा ट्रम्प र सीबीच प्रत्यक्ष भेट तय भएको छ। विश्लेषकहरूका अनुसार, चीनले हालै गरेको कडाइ वार्ता अघि मोलमोलाइका लागि गरिएको रणनीतिक कदम हुन सक्छ।

विश्लेषकहरूले ट्रम्पको ‘मनलाग्दी भन्सार नीति’ले अमेरिकी अर्थतन्त्रमा ठूलो जोखिम सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्। उनले भन्सार बढाउने अधिकारको सीमाबारे अमेरिकी सर्वोच्च अदालतले अर्को महिनामा निर्णय दिनेछ।

तर चिनियाँ राष्ट्रपति सी चिनफिङ कानुनी रूपमा त्यस्ता सीमाबाट मुक्त छन्। विशेषज्ञहरूका अनुसार, दुई ठूला अर्थतन्त्रबीच पुनः बढ्न लागेको यो व्यापार युद्धले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने निश्चित देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर