त्रिदेशीय कपमा इरानसँग नेपाल पराजित, दोस्रो हाफमा तीन गोलको झट्का

भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार भएको त्रिदेशीय महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० को फराकिलो अन्तरले पराजित भएको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इरानले उत्कृष्ट प्रदर्शन गर्दै १० मिनेटभित्र लगातार तीन गोल गरेको थियो।

भारतविरुद्धको अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी साराह डिडारले यस खेलमा पनि त्यही लय जारी राख्दै ४९ औं मिनेटमा पहिलो गोल गरिन्। इरानका दोस्रो र तेस्रो गोल क्रमशः ५२ औं मिनेटमा जहरा घानबारी र ५७ औं मिनेटमा सबनम बेहश्तले गरेका थिए।

नेपालले त्यसपछि खेलमा फर्कने प्रयास गरे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन। यसअघि इरानले भारतलाई पनि २–० ले हराएको थियो।

अब नेपालले सोमबार भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
स्मरणीय कुरा के हो भने, सन् २०१९ मा भारतकै भुवनेश्वरमा भएको वुमेन्स गोल्डकपमा नेपालले इरानलाई ३–० ले पराजित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर