काठमाडौँ — दसैँ–तिहारको लामो बिदासँगै मुस्ताङसहित हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भाइटीकाको भोलिपल्ट मात्रै बेनी–जोमसोम सडकमार्ग हुँदै ६ हजार ८५९ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए । तीमध्ये ६ हजार ५०६ आन्तरिक र ३५३ विदेशी पर्यटक रहेका छन् । यस अवधिमा २ हजार १६८ सवारीसाधन मुस्ताङ पुगेका थिए ।
अग्रिम बुकिङ नगर्दा समस्या
पर्यटकहरूको अकस्मात् भीड बढेपछि होटल तथा आवास व्यवस्थामा समस्या देखिएको छ । अग्रिम बुकिङ नगरी र पर्याप्त तयारीबिना मुस्ताङ पुगेका धेरै पर्यटकहरूले बस्ने र खाने ठाउँ पाउन कठिनाइ भोगेका छन् ।
बाराको निजगढबाट घुम्न आएका राहुल तिमल्सिनाले भने, “घुम्न जाने योजना त राम्रो थियो, तर बस्ने ठाउँ र खानेकुरा नपाउँदा तनाव भयो। अबदेखि अफसिजनमै जाने सोच बनाएको छु।”
काठमाडौँका सुवास अधिकारीले पनि जोमसोम पुग्दा होटल पाउन धौधौ परेको, अन्ततः एउटै कोठामा महँगो दरमा बस्नुपरेको र खानपानको व्यवस्था समेत कमजोर रहेको बताए ।
पोखराबाट परिवारसहित मनाङ पुगेकी सिर्जना लामाले साना बालबालिकासहितको यात्रामा खानपान र बसोबासको अभावले पछुतो लागेको बताइन् । सडकमा सवारीको लामो लाइनले यात्रा अझै कठिन बनेको उनको अनुभव छ ।
त्यस्तै, बुटवलका नवीन घिमिरेले होटल नपाएपछि स्थानीयको घरमा अतिरिक्त शुल्क तिरेर बस्नुपरेको बताए । चितवनकी गीता पौडेलले त होटल नपाएर गाडीमै रात बिताउनु परेको दुःखद् अनुभव सुनाइन् ।
पर्यटन व्यवसायमा अवसर र चुनौती
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार कोरला नाका खुल्दा र सडक सहज बन्दा मुस्ताङमा पर्यटकको संख्यामा तीव्र वृद्धि भएको हो । यसले पर्यटन व्यवसायमा नयाँ उभार ल्याए पनि चाडपर्वमा आउने भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताए ।
मुस्ताङका पर्यटन विज्ञ तथा सञ्चारकर्मी सुशीलबाबु थकालीका अनुसार आन्तरिक पर्यटकको वृद्धि सकारात्मक संकेत हो । तर, धेरैजसो पर्यटक पर्याप्त जानकारी र तयारीबिना आउँदा भीडभाड र अव्यवस्थाको समस्या देखिएको छ ।
थकालीले भने, “सामाजिक सञ्जालमा ‘मुस्ताङमा खाने र बस्ने ठाउँ छैन’ भन्ने हल्ला फैलाइएको छ, तर त्यो गलत हो। हामीले पर्यटकको स्वागत गर्न सक्ने क्षमता राख्छौं, केवल उनीहरूले अग्रिम योजना र बुकिङ गरेर आउनुपर्छ।”
उनका अनुसार मुस्ताङमा रहेका सामुदायिक भवन, आमा समूह र वडा कार्यालयका भवनहरूलाई पनि अस्थायी आवासको रूपमा प्रयोग गर्न सकिन्छ । साथै, मुस्ताङको मौसम र भौगोलिक चुनौतीका कारण आवश्यक कपडा, औषधि र जानकारीसहितको तयारी अपरिहार्य रहेको उनको सल्लाह छ ।




