फितलो प्रदर्शनपछि अमेरिकासँग नेपाल १०६ रनले पराजित

दुबई — विश्वकप लिग–२ क्रिकेटमा नेपाल आइतबार अमेरिकासँग १०६ रनले पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ६३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपाल ३९.१ ओभरमै १ सय ५६ रनमा अलआउट भयो।

यस जितसँगै अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लिएको छ। उसले २१ खेलमा ३० अंक जोडेको छ, जबकि समान अंकसहित स्कटल्यान्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। नेपाल भने १७ खेलबाट १२ अंकसहित सातौं स्थानमा सीमित छ।

नेपालको ब्याटिङ विभाग पुनः कमजोर रह्यो।
इनिङ्सको दोस्रो बलमै कुशल भुर्तेल शून्य रनमा आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै केही सम्भावना जगाए पनि लामो समय टिक्न सकेनन्। भीम २९ रनमा बोल्ड भए भने आसिफ ३७ रन बनाएर पभेलियन फर्किए।

कप्तान रोहित पौडेल २ रनमा, आरिफ शेख २० रनमा आउट भए। तल्लो क्रमका ब्याट्सम्यानहरू पनि लामो समय टिक्न नसक्दा नेपाल निर्धारित लक्ष्यभन्दा टाढै रह्यो।

अमेरिकी स्पिनर हरमित सिंह खेलका हिरो बने, जसले ८.१ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई सस्तामा पभेलियन फर्काए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो।
मिलिन्द कुमारले ५० बलमा अविजित ७० रन बनाउँदै अन्त्यतिर आक्रामक प्रदर्शन गरे। उनले ६ चौका र २ छक्का प्रहार गरे भने हरमित सिंहले ६ बलमा १६ अविजित रन जोडे।

अमेरिकाका ओपनर स्मित पटेलले ७५ रन र साइतेजा मुकामल्लाले ४२ रनको योगदान दिए।
नेपालबाट सन्दीप लामिछानेले २ विकेट, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र ऐरीले १–१ विकेट लिए।

नेपालले आगामी खेलमा लिग तालिकामा आफ्नो स्थिति सुधार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर