काठमाडौँ ।
सर्वोच्च अदालतको आदेशपछि आइतबार हिरासतमुक्त भएका अभियन्ता दुर्गा प्रसाईँले अघिल्लो केपी ओली नेतृत्वको सरकारले आफूहरूको आवाज दमन गर्ने प्रयास गरेको तर वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको टिप्पणी गरेका छन्।
सर्वोच्च अदालत परिसर बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले गैरकानुनी थुनाबाट मुक्त गराएकोमा अदालतप्रति आभार व्यक्त गरे। उनले भने, “पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कम्तीमा अहिलेको सरकारले हामीले उठाएका मागहरू सुनेर ‘तपाईँका माग जायज छन्’ भनेको छ।”
प्रसाईँले आफ्नो आन्दोलन रोकिएको नभई केही समयका लागि यसको स्वरूप परिवर्तन गरिएको स्पष्ट पारे। उनका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहपछिआजका लागि तय गरिएको बन्द कार्यक्रम स्थगित गरेर शान्तिपूर्ण ढंगले अघि बढ्ने निर्णय गरिएको हो।
“प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले अनुरोध गर्दै ‘तपाईंले उठाएका मागहरू जनजीविका र सर्वसाधारणसँग सम्बन्धित छन्, एक पटक बसेर छलफल गरौँ’ भनेपछि मैले वचन राखेको हुँ,” प्रसाईँले बताए। शनिबार भएको सरकारी वार्तामा २७ बुँदे मागबारे छलफल गर्न विज्ञसहितको टोली गठन गर्ने सहमति भएको उनले जानकारी दिए।
प्रसाईँले आफू हिंसाको पक्षमा नरहेको, देशमा थप अशान्ति नहोस् भन्ने चाहना रहेको पनि बताएका छन्। आन्दोलनको घोषणा भएपछि उनी पाँच दिनअघि आफ्नै निवासबाट पक्राउ परेका थिए।




