१२ मंसिर, काठमाडौं । राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज चार टोली मैदान उत्रिँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच हुनेछ। चितवनले तीन खेलमा ४ अंक जोडेर तालिकाको तेस्रो स्थान ओगटेको छ। त्यस्तै, काठमाडौंले चार खेलमा ४ अंक जुटाए पनि रनरेटका आधारमा चौथो स्थानमा छ।
दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ। तीन खेलबाट २ अंक मात्र हासिल गर्न सकेको कर्णालीका लागि आजको खेल ‘जित्नैपर्ने’ प्रकृतिको मानिएको छ। प्लेअफ आशा जोगाउन कर्णालीले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।
चार खेलमा ६ अंक बटुलेर अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किङ्स आजको खेल जित्दै प्लेअफ यात्रा सहज बनाउन चाहन्छ।




