अमेरिकामा वाशिङ्टन डीसीमा सुरक्षाकर्मीमाथि भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको आप्रवासन तथा शरणार्थी नीतिमा कडा कदम घोषणा गरेका छन्।
अमेरिकी नागरिकता तथा अध्यागमन विभाग (यूएससीआईएस) ले ट्रम्पको निर्देशनअनुसार ‘तेस्रो विश्व’ का नागरिकलाई दिँदै आएको सबै शरणार्थी कार्यक्रम अनिश्चितकालका लागि रोकिएको सिएनएनले जनाएको छ।
विभागका निर्देशक जो एड्लोका अनुसार निर्णय भइसकेका व्यक्तिहरूमासमेत आवश्यक सुरक्षा जाँच पूरा नभएसम्म कुनै पनि शरणार्थीलाई प्रवेश नदिइनेछ। “अमेरिकी जनताको सुरक्षा हाम्रा लागि पहिलो प्राथमिकता हो,” उनले स्पष्ट पारे।
राष्ट्रपति ट्रम्पले आर्थिक रूपमा कमजोर तथा विकासोन्मुख राष्ट्रहरूलाई ‘तेस्रो विश्व’ को रुपमा उल्लेख गर्दै ती सबै देशबाट हुने आप्रवासन स्थायी रूपमा रोक्ने घोषणा गरे। उनले सोमाली शरणार्थीहरूलाई मिनेसोटाजस्ता राज्यहरू “कब्जा गर्न खोजेको” आरोपसमेत लगाए।
यसअघि पनि ट्रम्प प्रशासनले अफगानिस्तानसहित अफ्रिका र एसियाका ११ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइसकेको थियो। पहिलो कार्यकालमा मुस्लिम बहुल देशहरू लक्ष्यित प्रतिबन्ध विवादित बनेको थियो।
गोलीकाण्डपछि थप कडाइ
ह्वाइट हाउस नजिकैको मेट्रो स्टेशनमा बुधबार भएको गोली प्रहारमा गम्भीर घाइते दुई नेसनल गार्डमध्ये २० वर्षीया सारा बेकस्ट्रमको निधन भएपछि ट्रम्पले आप्रवासन नीतिमा तुरुन्त कडाइ गरिएका हुन्।
आक्रमणकारी २९ वर्षीय रहमानउल्लाह लाकनवाल अफगानी नागरिक भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। २०२१ मा बाइडेन प्रशासनको ‘अपररेशन अलाइज वेलकम’ अन्तर्गत अमेरिका प्रवेश गरेका उनलाई घटनास्थलमै नियन्त्रणमा लिइएको थियो।
लाकनवाल अफगान सेनामा करिब १० वर्ष सेवा गर्दै अमेरिकी विशेष फौजसँग सहकार्य गरेका थिए।
१९ देशका ग्रीनकार्डधारीको पुनःसुरक्षा जाँच
घटनापछिको सुरक्षामूलक निर्णयअन्तर्गत अमेरिकाले १९ देशका नागरिकले पाएका ग्रीनकार्ड पुनःकडाइका साथ जाँच गर्ने भएको छ। ती देशहरू यसप्रकार छन्—
अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला।
२२ लाख शरणार्थी प्रतिक्षामा
सिराक्युज विश्वविद्यालयको ट्रान्ज्याक्शनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसका अनुसार सन् २०२५ अगस्टसम्म २२ लाखभन्दा बढी व्यक्तिहरू अमेरिका प्रवेश अनुमति पर्खिरहेका छन्।
गोलीकाण्डको कारण बनेका घटनाहरू र ट्रम्पको कडा निर्णयले आगामी दिनमा अमेरिकाको आप्रवासन तथा शरणार्थी नीतिमा अझ प्रभाव पार्ने देखिएको छ।




