४ पुस, काठमाडौं ।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक शरिफ उस्मान हादीको निधनपछि राजधानी ढाकासहित देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भड्किएको छ। गोली प्रहारबाट गम्भीर घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।
हादीको निधनको खबर फैलिएसँगै ढाकाका धानमन्डी, शाहबागलगायत क्षेत्रमा प्रदर्शनकारीहरू सडकमा उत्रिएर तोडफोड र आगजनीमा उत्रिएका छन्। बिहीबार रातभर विभिन्न स्थानमा आक्रमण भएका थिए। बीबीसीका अनुसार बंगलादेशका दुई प्रमुख अखबार—प्रोथोम आलो र डेली स्टार—का कार्यालयहरू समेत आक्रमणको निशानामा परेका छन्।
प्रदर्शनका क्रममा धानमन्डी–३२ स्थित शेख मुजीबुर रहमानको घर र छायानाट संस्कृति भवनमा पनि आक्रमण र आगजनी गरिएको थियो। आगलागी हुँदा दुवै सञ्चारमाध्यमका भवनभित्र रहेका कयौं पत्रकार फसेका थिए। पछि सेना र प्रहरीले स्थिति नियन्त्रणमा लिँदै दमकलको सहयोगमा आगो निभाएर पत्रकारहरूलाई सुरक्षित रूपमा उद्धार गरेका थिए।
घटनापछि शुक्रबार दुवै पत्रिकाका छापा संस्करण बजारमा आए पनि अनलाइन सेवा भने लगभग ठप्प रहेको बीबीसीले जनाएको छ।
यसैबीच, बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले बिहीबार राति ११:२० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई संयम र धैर्य अपनाउन आग्रह गरेका छन्। उनले अफवाह र भ्रामक प्रचारमा विश्वास नगर्न तथा हतारमा कुनै निर्णय नलिन अपिल गरेका छन्। युनुसले शनिबार राजकीय शोकको घोषणा पनि गरेका छन्।
इन्कलाब मञ्चका अनुसार शरिफ उस्मान हादीको शव शुक्रबार बंगलादेश ल्याइने तयारी गरिएको छ। गत शुक्रबार ढाकाको एक मस्जिदबाट बाहिरिने क्रममा हादीमाथि गोली प्रहार भएको थियो। टाउकोमा गोली लागेपछि गम्भीर घाइते भएका उनलाई १५ डिसेम्बरमा थप उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भयो।
शरिफ हादीको निधनप्रति बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान, जमात–ए–इस्लामी, एनसीपी (नेशनल सिटिजन्स पार्टी) लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्।
को हुन् शरिफ उस्मान हादी?
शरिफ उस्मान हादी गत वर्ष अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये एक थिए। उनी शेख हसिनाविरोधी इन्कलाब मञ्चका सदस्य थिए र आगामी फेब्रुअरीमा हुने भनिएको निर्वाचनका लागि ढाका–८ क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा सक्रिय थिए।
गत वर्ष जुलाईमा भएको विद्यार्थी आन्दोलनपछि चर्चामा आएको इन्कलाब मञ्चमाथि कट्टरपन्थी संगठनसँग सम्बन्ध रहेको र सत्तारुढ अवामी लिगलाई कमजोर पार्ने प्रयास गरेको आरोप लाग्दै आएको थियो। यद्यपि विद्यार्थी आन्दोलनमा भूमिका निर्वाह गरे पनि युनुस नेतृत्वको अन्तरिम सरकारले पछि उक्त संगठन भंग गर्दै राष्ट्रिय निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएको थियो।




