काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समय अब एक साता मात्र बाँकी रहेको छ। निर्वाचन आयोगले २०७८ सालको जनगणनाका आधारमा समावेशी कोटा निर्धारण गरेसँगै यसअघिको व्यवस्थामा सामान्य हेरफेर भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भइसकेको छ। आयोगका अनुसार समानुपातिक प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो, जसअनुसार १०० राजनीतिक दलले आवेदन दर्ता गराएका छन्।
निर्वाचन तालिकाअनुसार समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलहरूले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। बन्दसूची पेस गर्दा समावेशी प्रतिनिधित्वको संवैधानिक व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
यसअघि २०७९ सालको निर्वाचनमा २०६८ सालको जनगणनाका आधारमा समावेशी कोटा निर्धारण गरिएको थियो। तर यसपटक सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गरी २०७८ सालको जनगणनालाई आधार मानेको छ। राष्ट्रपति द्वारा गत शुक्रबार जारी अध्यादेशअनुसार राजनीतिक दलहरूले नयाँ जनगणनाका तथ्यांकअनुसार नै समानुपातिक बन्दसूची बुझाउनुपर्ने व्यवस्था गरिएको हो।
प्रतिनिधि सभामा कुल २७५ सदस्य रहनेछन्, जसमध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्। ११० सिटका लागि बन्दसूची बुझाउँदा समावेशी कोटा यसप्रकार तोकिएको छः खस आर्य ३३, आदिवासी जनजाति ३२, मधेशी १८, दलित १५, थारू ७ र मुस्लिम समुदायबाट ५ जना। साथै, समग्र बन्दसूचीमा कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ।
निर्वाचन आयोगले समानुपातिकतर्फको प्रारम्भिक बन्दसूची आगामी माघ ४ गते प्रकाशित गर्ने जनाएको छ। त्यसपछि दाबी–विरोध तथा उजुरीमाथि छानबिन गरी माघ २७ गते अन्तिम बन्दसूची सार्वजनिक गरिनेछ।
यसैबीच, प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन आगामी माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ।




