९ पुस, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्ला केही दिनदेखि दुवै धातुको भाउ तीव्र गतिमा बढिरहेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन सुनको भाउ एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ । यसअघि सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । बुधबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढ्दै ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । प्रतिशतका आधारमा हेर्दा सुनको तुलनामा चाँदीको मूल्य वृद्धिदर अझ बढी देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको बढ्दो आकर्षण र आर्थिक अनिश्चितताका कारण सुन–चाँदीको मूल्य अझै माथि जान सक्ने अनुमान गरिएको छ ।




